बालाजु क्षेत्रको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं । नयाँ बसपार्कमा सोमबार भएको लुटपाटको घटनापछि राजधानीको सुरक्षा अवस्थाको बारेमा प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले उक्त घटना किन र कसरी भयो भन्ने बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

यातायात व्यवसायीले गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र कार्यक्षेत्रमा खटिएका प्रहरीले गरेको कमजोरीका बारेमा छानबिन गर्न उक्त समिति बनाएको प्रधान कार्यालयले जनाएको छ ।

घटना बारेमा छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा प्रहरी वरिष्ठ उपरीक्षक हिमालय श्रेष्ठ, एसपी सीताराम रिजाल, सानुराम भट्टराई र डीएसपी खुमलाल भुसाल सदस्य रहेका छन् ।

ट्राफिक प्रहरीले यातायात मजदुरमाथि ज्यादती गरेको भन्दै राजधानीको बालाजु क्षेत्रमा शुरू भएको आन्दोलनले उग्र रूप लिने क्रममा नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट भएको थियो ।

प्रहरीले उक्त लुटपाटमा संलग्न रहेका, आन्दोलनमा सहभागी भएका सार्वजनिक सवारी साधनका चालक र सहचालक गरी १५ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले माघ १ गतेदेखि देशभर सवारी नियम उल्लंघन गर्ने सवारीकर्ताले १ हजार ५ सय रुपियाँ जरिवाना तिर्नुपर्ने नियमका विरुद्धमा सडकमा उत्रिएका यातायात मजदुरको आन्दोलनका कारण लुटपाट र आगजनीको घटना भएको थियो ।

उक्त घटनापछि राजधानीको शान्ति सुरक्षाका विषयमा गम्भीर प्रश्न उठेको थियो । प्रहरीको कार्यशैलीप्रति आम नागरिकले प्रश्न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर घटनाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्