सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो



काठमाडौं । आफ्नै घरमा प्रयोग गरिरहेको ग्याँस सिलिन्डर पड्किएर सख्त घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । सोही घटनामा सख्त घाइते भएकी सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने उपचारकै क्रममा बिहीबार निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले उहाँको बिहान करिब १० बजेर ५७ मिनेटमा उपचारका क्रममा निधन भएको बताउनुभयो ।

हात, गोडा र अनुहार गरी शरीरको २५ प्रतिशत भाग जलेर घाइते भएका सांसद भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालको सल्लाहबमोजिम थप उपचारका लागि भारतको मुम्बई लगिएको हो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार उहाँलाई श्री एयरलाइन्सको जहाज चार्टर गरेर भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको हो । भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको डा. ताम्राकारको भनाइ छ ।

अस्पतालले विज्ञप्ति नै जारी गरेर भण्डारीको दुवै हात, दुवै गोडा र अनुहार गरी शरीरको २५ प्रतिशत भाग जलेको जनाएको छ । उहाँको उपचारमा डा. प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा. वृहस्पति (एनेस्थेसिया एन्ड क्रिटिकल केयर), डा. रोशन शर्मा (फ्लाइट डाक्टर इएमएस) लगायतका स्वास्थ्यकर्मीहरूको टोली संलग्न रहेको बताइएको छ । सरल र वैचारिक नेता डा. भण्डारीले आफू नेपालमै रहेर उपचार गर्ने बताए पनि नेपालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकहरूले भारत जानुपर्ने परामर्श दिएपछि उहाँ भारत जान राजी हुनुभएको हो ।

घरको पहिलो फ्ल्याटमा आमासँग बस्दै आएका सांसद भण्डारीलाई बुधबार राति आमाले ग्याँस गन्हाएको बताएपछि हेर्नका लागि भान्छामा गएर बत्ती बाल्न खोज्दा एक्कासी आगो लागेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ । ‘आमाले ग्याँस गन्हाइरहेको छ भन्नुभएछ, त्यसपछि उहाँ आमासहित भान्सातिर जानुभएछ’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले भन्नुभयो– ‘भान्सामा अँध्यारो थियो, भित्र गएर बत्ती बाल्नेबित्तिकै आवाजसहित आगलागी भएको देखिएको छ ।’

सांसद भण्डारी र उहाँकी आमाबाहेक परिवारका सदस्यहरू घरमा थिएनन् । दुर्घटनाबाट भान्सा छिर्ने काठको ढोका चिरिएको छ भने भान्सा सामुन्नेको आमा सुत्ने कोठाको झ्याल र प्यासेजमा रहेको बत्तीको सिसासमेत फुटेको छ । सांसद भण्डारीको भान्सामा प्रयोग भएको ग्याँस राजधानी कम्पनीको रहेको खुलेको छ । उक्त ग्याँसको सिलिन्डर, रेगुलेटर र पाइप प्रहरी वृत्त बानेश्वरले अनुसन्धानका लागि राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्