संसद्को बनावट नै अस्थिर प्रकृतिको



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद्को बनोट अस्थिर प्रकृतिको रहेको बताउनुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिर प्रकारको संसद्को बनावटले कसलाई कतिबेला कहाँ पु¥याउँछ भन्ने टुंगो नभएको बताउनुभयो ।

विगतको पाँच दलीय गठबन्धन तोडेर नयाँ गठबन्धन निर्माण गरी सरकार बनाएकोमा एमालेका नेताहरू खुसी भए पनि त्यो खुसीलाई कतिन्जेल टिकाउन सकिन्छ भन्ने कुरामा गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अस्थिर संसदकै कारण वर्तमान सरकारले बनाएको सात दलीय गठबन्धन टिकाउन दलहरूलाई निकै हम्मेहम्मे परेको संकेत गर्दै ओलीले भन्नुभयो– ‘यो संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ । बहुमत कसैको छैन, हाम्रो पार्टीसँग पनि छैन । बहुमतभन्दा निकै तल सिट छ । भित्र र बाहिरका धेरै शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन् ।’

पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनाएको स्मरण गराउँदै ओलीले एमालेका साथीहरू धेरै खुसी भइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘हाम्रा धेरै साथीहरू खुसी हुनुहुन्छ । खुसी हुनु पनि पर्छ । तर, धेरै खुसी हुनुहुँदैन । संसद्को बनावट यति अस्थिर छ की कुनबेला के हुन्छ पत्तै हुँदैन ।’

एमालेलाई सिध्याउन हरतरहबाट प्रहार भइरहेको भन्दै ओलीले भन्नुभयो– ‘यहाँ स्थिरता हुन नदिने शक्तिहरू भित्र बाहिरबाट लागि रहेका छन् । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो ।’ नेकपा एमाले देश बचाउने सुरक्षागार्ड रहेको भन्दै डाँकाहरूले डकैती गर्न जाँदा सबैभन्दा पहिला सुरक्षाकर्र्मीलाई नै आक्रमण गर्ने गरेको टिप्पणी गर्दै उहाँले अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहे पनि एमाले त्यसबाट पछि नहट्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्