लामिछानेको अभिव्यक्तिप्रति प्रेस जगत्को आपत्ति



काठमाडौं । पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीले प्रेस क्षेत्रमाथिको हमला कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै पत्रकारका सबै संघ–संगठनहरुले प्रतिवादको पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

लामिछानेको अभिव्यक्तिका विषयमा महासंघले आयोजना गरेको छलफल कार्यक्रमा महासंघका पूर्वअध्यक्ष शिव गाउँले र डा. महेन्द्र विष्टले लामिछानेले सञ्चारमाध्यममाथि गरेको टिप्पणी सामान्य नभएको भन्दै विरोध गनुभएको थियो । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष विष्टले लामिछानेले अराजक अभिव्यक्ति दिएको भन्दै उहाँको शैली धम्कीका विषय स्वीकार्य हुन नसक्ने बताउनुभयो । ‘राज्यले लामिछानेको अभिव्यक्तिलाई टिपोटमा लिनुुपर्छ, हिंसा भड्काउने अभिव्यक्तिलाई छुट दिन हुँदैन ।’ –विष्टले भन्नुभयो ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष गाउँलेले नेपाली प्रेस जगत्माथि लगाइएको लाञ्छनाप्रति लामिछानेले क्षमायाचना गर्नुपर्ने धारणा राख्नुभयो । गाउँलेले भन्नुभयो– ‘कसैले धम्की दिँदैमा नेपाली प्रेस जगत् हल्लनेवाला छैन ।’

महासंघका वरिष्ठ उपाध्यक्ष विष्टका शब्द थिए– ‘लामिछानेको अभिव्यक्ति सामान्य होइन, प्रेस जगत्का लागि धम्की हो । यस्ता विषयमा चुप लागेर बसे आगामी दिनमा प्रेस जगत्माथिको आक्रमण बढ्दै जानेछ ।’

अध्यक्ष लामिछानेले नेपाली प्रेस जगत्का चर्चित १२ सम्पादकको नामै लिएर ‘१२ भाइले मलाई आग्रहपूर्वक गालीगलोज गरिरहेका छन्, आधारहीन कुरामा विरोध गरिरहेका छन्’ भन्दै गत साता पत्रकार सम्मेलन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्