श्रीसदनसँगैको ‘ऐश्वर्य बगैंचा’ सर्वसाधारणका लागि खुल्दै



काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले आफैंले स्याहारसुसार गर्ने गरेको ‘ऐश्वर्य बगंैचा’ सर्वसाधारणका लागि खुला हुने भएको छ । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यो वर्षभित्र सो पार्क खुला गर्न लागेको हो ।

विशेष गरी रानी ऐश्वर्यले आफ्नो सोखका लागि निर्माण गरेको सो बगंैचा हाल खाली चौर जस्तो अवस्थामा रहेको छ । उक्त बगंैचामा रानी ऐश्वर्य र राजा वीरेन्द्रले रोपेका दुर्लभ मानिएको फूल र बोटबिरुवा पुनः रोपिने जानकारी दिँदै समितिका प्रमुख डा. सुरेशसुरस श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वार्षिक कार्यक्रमअनुसार बगैंचा निर्माण शुरु गरिएको छ । श्रीसदन परिसरमा रहेको सो बगंैचा सफाइ गर्ने काम भइरहेको छ । समितिले बगैचामा रहेका सबै बोटबिरुवा र फूलको संरक्षण शुरु गरेको छ ।’

श्रीसदन खुला भएको करिब दुई वर्षपछि ऐश्वर्य बगैंचा खुला गर्न लागिएको हो । उहाँले यो वर्षको अन्त्य सम्ममा बगैचा खुला गर्ने तयारी भैरहेको बताउनुभयो । सो बगैंचामा फुर्सदको समयमा स्वर्गीय राजा वीरेन्द्र र ऐश्वर्यले आफैं हेरचाह गर्ने गर्नुभएको थियो । सर्बसाधारणले श्रीसदन अवलोकन गरेपछि ऐश्वर्य बगैचा घुम्न पाउने गरी तयारी थालेको छ । ऐश्वर्य बगंैचाले श्रीसदनसँगै ग्यारेजसँग जोडिएको करिब दुई रोपनी क्षेत्र ओगटेको छ ।

समितिले अन्य क्षेत्रमा रहेका बगैंचा, चौरलगायत पूर्वराजपरिवारले प्रयोग गरेका संरचना खुला गर्ने तयारी थालेको छ । समितिले पूर्वराजपरिवारले प्रयोग गरेका पुस्तकालयको पुुस्तक छनोट गरी आवश्यक पुस्तक प्रदर्शनीमा राख्ने तयारी पनि गरेको छ । समितिले हेलिप्याड, फुटबल ग्राउन्ड, झिल पोखरीलगायतका संरचनासमेत अवलोकनका लागि खुला गर्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँग छलफल गरिरहेको छ ।

नेपाली सेनाको उपत्यका र विशेष सुरक्षा दस्ता रहेको नारायणहिटीभित्र सिमानाको समस्या हल नभएसम्म संग्रहालय प्रशासनले भनेजस्तो सबै संरचना खुला गर्ने अवस्था देखिँदैन । नारायणहिटी दरबारको अधिकांश क्षेत्रमा नेपाली सेनाको विभिन्न तहको सुरक्षा दस्ता रहेका छन् ।

करिब एक वर्षअघि नेपाली सेना र नारायणहटीको सिमाना विवाद समाधान गर्ने प्रयास भए पनि कार्यान्वयन हुन सकेको छैन । नेपाली सेनाले ओगटेको क्षेत्र नछाडेसम्म सर्वसाधारणले नारायणहिटी परिसरको क्षेत्रफल र पूर्वराजाको सम्पत्ति देख्न पाउने अवस्था छैन ।

संग्रहालयले पूर्वराजाले प्रयोग गरिरहेका हेलिकोप्टर र प्लेनलाई प्रदर्शनीमा राखिसकेको छ । नेपाली सेनाको सहयोगमा प्लेन र हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको थियो । त्यसै गरी, राजा त्रिभुवन र राजा महेन्द्रले प्रयोग गरेका तीनवटा सवारीसाधन अवलोकनको लागि खुला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्