एमालेका नेताले ‘सेन्टिफ्ल्याट’ खान्छन् : नेपाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुने आशमा बसेका एमालेका नेताहरु निराश हुने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएको चर्चा गर्दै नेपालले भन्नुभयो– ‘एमालेले अतितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउँछ । अहिले सबैतिर राष्ट्रपति पदको चर्चा छ । प्रत्येक व्यक्तिहरू म राष्ट्रपति हुने हो भनेर दंग परेका छन् । सबैलाई राष्ट्रपति पद दिइएको छ । भइहालें भन्ने सबैलाई परिरहेको छ । को–को सेन्टिफ्ल्याट खाने हो थाहा छैन ।’

नेपालको राजनीति यही ढंगले अघि बढिरहे केही समयपछि राजनीतिक कोर्षले फरक रूप लिने उहाँको भनाइ छ । आफूहरू पनि राष्ट्रिय राजनीतिमा रहेको दाबी गर्दै नेपालले भन्नुभयो– ‘हाम्रो पनि भूमिका छ । के मूल्य छ यिनीहरूको भन्नेहरू भन्दै गरुन् । हन्डर, ठक्कर खाएपछि चेत खुल्छ । हामी पोजेटिभ भूमिका खेल्छौं । हामी कसैको पक्षपोषण गर्दैनौं ।’

आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने जिकिर गर्दै नेपालले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको दाबी गर्नुभयो । ‘किन नेपालको अहिलेको राष्ट्रिय परिस्थिति कलकल नदीमा बगिरहेको पानी जस्तो छैन । यथास्थिति रहँदैन’, उहाँले भन्नुभयो– ‘सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो, नयाँ सरकारमा अहिले को को छ ? एउटा नेपाली कांग्रेस, अर्को एकीकृत समाजवादी छ । यो पार्टीको केही अर्थ छैन, यसको भविष्य खत्तम छ भनेको होइन, कहाँबाट उदायो त्यहाँ । ठूलो धक्का एमाले पार्टीलाई परेको छ । त्यो शुरुआत मात्र हो ।’

आगामी राष्ट्रपतिको निर्वाचनमा पनि एमालेले उठाएका नेतालाई गठबन्धन पक्षबाटै सहयोग नहुने अध्यक्ष नेपालको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्