गठबन्धनका मुख्य शक्तिबीच तिक्तता चुलिँदै



काठमाडौं ।सातदलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिँदै गएको हो ।

नेपाली कांग्रेस भने हौसिएको छ । शनिबार कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट शुरू भइसकेको बताउनुभयो । ढिलो–चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दाबी गर्दै उहाँले वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी गर्नुभयो । प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पु¥याइएको भन्दै बिना योजना सत्ता प्राप्तिकै लागि मात्रै गरिएको गठबन्धनमा अहिले नै खटपट आइसकेको बताउनुभएको छ ।

शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै महतले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको हो । विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव छ । हामी ढिलो–चाँडो फेरि सत्तामा आउनेछौं । विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं ।’

सत्ता सहयात्राका प्रमुख पात्र ओली र उनकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डबीच राष्ट्रपति निर्वाचनको विषयलाई लिएर चिसोपन बढ्दै गएको गठबन्धनकै नेताहरुले सार्वजनिक गर्न थालेका छन् । शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत राष्ट्रपति निर्वाचनको विषय लिएर प्रचण्ड र ओलीबीचमा ‘भनाभन’ नै भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने बताएपछि एमाले अध्यक्ष ओलीले प्रतिवाद गर्नुभएको बैठकमा सहभागी एक नेताले बताए ।

‘प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नुपर्ने बताएलगत्तै ओली ‘यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन’ भनेर कडारूपमा प्रस्तुत हुनुभयो ।’ –उनले भने । सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको ओलीले तर्क गर्नुभएको ती नेताले बताएका छन् ।

कांग्रेस सहितको पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणका साथ प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओली प्रचण्डको पछिल्लो गतिविधिप्रति सन्तुष्ट हुनुहुन्न । सरकार गठन हुँदा गठबन्धन दलहरुबीच भएका राजनीतिक सहमतिलाई कार्यान्वयन नगरेर प्रचण्ड सरकारलाई पनि सजिलो नहुने एमालेका नेताहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेका छन् ।

एमाले नेता विशाल भट्टराइले भन्नुभयो– ‘हिजो गठबन्धन दलहरुबीच राजनीतिक भागबण्डामा जे सहमति भएको छ, त्यो मान्नुपर्छ । तर, प्रधानमन्त्री प्रचण्डले देशी–विदेशी शक्तिहरुको दबाबमा परेर सहमतिमा राष्ट्रपति बनाउने भन्ने खेती शुरु गर्नुभएको छ । यसले उहाँलाई पनि सहज छैन । सहमति पालना नभए प्रचण्ड सरकार लामो समय नरहन सक्छ ।’ सत्ता गठबन्धनलाई सबैदलहरुले इमानदारिताका साथ टिकाएर भरोसा योग्य बन्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्रपतिमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग समेत छmलफल गरिसक्नुभएको छ । राष्ट्रपतिमा सहयोग आग्रह गर्दै उहाँले ठाकुरलाई शुक्रबार संघीय संसद् भवनबाट आफ्नै गाडीमा लगेर बालकोटमा छलफल गर्नुभएको थियो । सत्ता गठबन्धनबाहिर रहेको लोसपाको समेत साथ माग्न थालेपछि प्रचण्डप्रति ओलीको विश्वास घट्दै गएको प्रस्ट भएको छ ।

राष्ट्रपतिको चुनावमा एमालेलाई सहयोग गर्न आग्रह गरे पनि आफूले स्पष्ट जवाफ नदिएको लोसपा अध्यक्ष ठाकुरले बताउनुभयो । ‘ओलीजीले राष्ट्रपतिमा साथ दिनुस् भन्नुभयो, मैले सल्लाह गरौँला भनेर त्यहाँबाट निस्कें ।’ –उहाँको कथन छ । यस विषयमा पुनः कुरा हुने बताउँदै अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा कुरा मिल्न छाडेको संकेत गर्नुभयो । लोसपाले समेत ठाकुरलाई नै राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने बताउँदै आएको छ । यदि एमालेलाई सत्ता गठबन्धनबाट राष्ट्रपति स्वीकार गर्ने अवस्था नआए ओलीले ठाकुरलाई नै अघि सार्न सक्ने सम्भावना समेत बढेको छ ।

राष्ट्रपति बनाउने सन्दर्भमा सत्ता गठबन्धनभित्र नेताहरुबीच दुरी बढ्दै गएको अवस्थामा ओलीले अन्य दलहरुसँग छलफल अघि बढाएर सुरक्षित बाटोको खोजिमा लाग्नुभएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ । माओवादीसहित सरकारबाहिर रहेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले समेत एमालेलाई राष्ट्रपति दिन नहुने दाबी गर्दै आएका छन् ।

सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयलाई लिएर विवाद चुलिँदै गर्दा कांग्रेसले आफ्नो उम्मेदवारलाई सहयोग गर्ने वातावरण मिलाउन प्रधानमन्त्रीलगायत नेताहरुसँगको भेटघाटलाई बढाएका छन् । शुक्रबार नै प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका महामन्त्री गगनकुमार थापाले भेटेर विगतमा ओली सरकारले गरेका संसद् विघटनलगायत राष्ट्रिय मुद्दाका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिका स्मरण गराउनुभएको थियो ।

थापासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी शक्ति सन्तुलनका लागि र विगतका गल्तीहरुलाई नदोहो¥याउन माओवादी पार्टीभित्र समेत एमालेलाई राष्ट्रपति दिन नहुने छलफल चलेकोे बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्