साउनयता ६० आगलागीका घटना

सोमबारको आगलागीमा झन्डै ३ करोडको क्षति



काठमाडौं । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।

फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् । तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राती करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियोे ।

आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो । साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार शुरूमा कवाड कारखानामा आगलागी भएको थियो । त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो । सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो ।

फायर कमान्डर कुँवरले छोटेलाल साह र रञ्जन गुप्ताले सञ्चालन गरेको कवाड कारखानामा भएको आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताउनुभयो ।

त्यसअघि विद्युत् सर्ट भएर ३ र अन्य दुईवटा आगलागीका घटना भएको कुँवरको भनाइ छ । यो महिनामा मैतीदेवी, बालाजु, चावहिल र धोवीघाटमा आगलागी भएको थियो ।

पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७८÷०७९मा ३ सय ५५ र चालु आवमा १ सय ४८ घटना भएका थिए । साउनमा ३५, भदौमा र असोजमा २०–२०, कार्तिकमा २४, मंसिरमा २१ र पुसमा २३ वटा आगलागीका घटना भएका छन् । तीमध्ये विद्युत् सर्ट भएर ५५, ग्यास लिक भएर ८ र अन्य २६ आगलागीका घटना भएका छन् । फायर कमान्डर कुवँरले अघिल्लो वर्ष विद्युत् सर्ट भएर ३ सय ५५ र ग्यास लिक भएर १ सय ८१ र अन्य ७३ वटा घटना भएको जानकारी दिनुभयो ।

कामपाले उपत्यका र त्यससँग जोडिएको जिल्लामा आगलागी नियन्त्रण गर्न दमकल परिचालन गर्ने गरेको छ । दमकल कार्यालयले आगलागी नियन्त्रण गर्न सबै वडामा जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । तैपनि असावधानीका कारण आगलागीका घटना बढ्दै गएको दमकल कार्यालयका प्रमुख प्रकाश पण्डितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्