राष्ट्रपति र सभामुख चयनपछि ओलीले प्रचण्डलाई धोका दिन्छन् : पूर्वराजदूत उपाध्याय



बुटवल ।

नेपाली काँग्रेसका नेता एंव भारतका लागि नेपालका पूर्वराजदूत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रपति र सभामुख चयन भएपछि प्रचण्डलाई धोका दिने ठोकुवा गर्नु भएको छ । राष्ट्रपति र सभामुख पद हटाउन संसदमा २ तिहाई संख्या चाहिने भएकाले यो नियुक्ति पछि ओलीले प्रचण्डलाई साथ छाडने खुलासा गर्नु भयो । पूर्वराजदूत उपाध्यायले एमालेले  राष्ट्रपति र सभामुख लगायतका महत्त्वपूर्ण पदलाई प्राप्त गर्नका लागि प्रचण्डलाई विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गर्नु भयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेससहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो ।

उपाध्यायले दलहरुभित्र रहेको भागबन्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताउनु भयो । उपाध्यायले  चरम “कू“ राजनीतिक मौलाउँदै गएकाले विरक्त भएर आफू अहिले सक्रिय राजनीतिबाट विश्राम लिएको समेत खुलासा गर्नु भयो ।
उहाँले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाउनु भयो ।

नेपालमा गठबन्धन लोकतन्त्र मूल्य मान्यता विपरीत भएको उल्लेख गर्दै  पूर्व मन्त्री समेत रहनु भएका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेन्डा राजतन्त्र फाल्नु पर्ने भएपनि पछि विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताउनु भयो ।

उहाँले राजनीतिक दलहरुको दुरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने दाबी गर्नु भयो । प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्त्वपूर्ण पदमा दाबी गर्नु स्वाभाविक रहेको बताउँदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गर्नु भयो । कार्यक्रम रिपोर्टर्स क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको  अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्