पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १८ घाइते



काठमाडौं ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ मधुवनमा बिहीबार राती भएको बस दुर्घटना ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा खुसार्ने गाउँका ६ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको मृत्यु भएको रैनादेवी छहरा गाउँपालिका-८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतकमध्ये एकजनाको परिचय खुलेको छैन ।

तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएका छन् । रातीको समय र हुस्सु लागेकाले उद्धारमा कठिन भएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी-ढोरपाटन सडकखण्ड अन्तर्गत पर्छ ।

प्रतिक्रिया दिनुहोस्