आर्सेनलको पुनरागमन जित



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिगको खेलमा आर्सेनलले पुनरागमन जित निकालेको छ ।घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर आर्सेनलले वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सानदार पुनरागमन जित निकालेको हो । आर्सेनलको पुनरागमन जितमा बुकायो साका, गाब्रिएल मार्टिनेली र इडवार्ड एनकेइटाले गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल भने सान्त्वना बन्यो । इमिरेट्स स्टेडियमा लन्डनमा सोमबार राति भएको खेलको २७औं मिनेटमा सेड बेनरहमाको गोलबाट आर्सेनल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

पहिलो हाफमा पछि परेको आर्सेनलले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै पुनरागमन गर्दै जित निकाल्न सफल भयो । खेलको ५३औं मिनेटमा बुकायो साकाले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ५८औं मिनेटमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सेनललाई २–१ को अग्रता दिलाए । उनले ग्रानिट झाकाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि, ६९औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । उनले कप्तान मार्टिन ओडेगार्डकै पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सेनल विजयी हुन सफल भयो । यस जितसँगै आर्सेनलको १५ खेलबाट ४० अंक पुगेको छ । आर्सेनलले १३ जित र समान एक बराबरी र हारको नतिजा निकालेको छ । पराजित वेस्ट ह्यामको १४ अंक छ ।

त्यसैगरी, फरवार्ड मोहम्मद सलाहले गोलसँगै असिस्ट प्रदान गरेपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पा¥यो । लिभरपुलले घरेलु टोली एस्टन भिल्लामाथि ३–१ को सहज जित हात पारेको हो । लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गरे । घरेलु टोली भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए ।

भिल्ला पार्क बर्मिङहममा सोमबार राति भएको खेलको पाँचौ मिनेटमा नै मोहम्मद सलाहको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई पहिलो हाफ मा २–० को अग्रता दिलाए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । वाट्किन्सले डगलस लुइजको पासलाई सदुपयोग गरेका थिए ।

खेलको ८१औं मिनेटमा परिवर्तित खेलाडी स्टेफन बाजसेटिकले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । ७९औं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको स्थानमा मैदान छिरेका उनले दुई मिनेटको अन्तरमै गोल गर्न सफल भएका थिए । यस जितसँगै लिभरपुलको १५ खेलबाट २५ अंक भएको छ । पराजित एस्टन भिल्लाको १६ खेलबाट १८ अंक रहेको छ ।त्यसैगरी, अर्को खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले समान अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २–० को अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा २–२ को बराबरीमा चित्त बुझायो । ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर एमिल होएबिएरले गोल गर्दै खेलमा फर्काए । खेलको अन्त्यतिर टोटेनहमले लगातार दबाब सिर्जना गरे पनि जित हासिल गर्न भने सकेन ।

खेलको १५औं मिनेटमा जानेल्टले घरेलु टोलीलाई अघि बढाएका थिए । वैकल्पिक गोलरक्षक फ्रेजर फ्रोस्टरले सुरुवाती प्रहार बचाउने प्रयास सफल नहुँदा उनी गोल गर्न सफल भए । विश्वकप फाइनल खेलेका स्पर्स तथा फ्रान्सका कप्तान ह्युगो लोरिस बेन्चमा रहँदा फ्रोस्टरले अवसर पाएका थिए । दोस्रो हाफको ५४औं मिनेटमा आइभन टोनीले ब्रेन्टफर्डको अग्रता दोब्बर पारे । तर, टोटेनहमले ६ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पुनरागमन गरे । केनले क्लेमेन्ट लेंगलेटको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरे । त्यसपछि होएबिएरले पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई पोस्टको दिशा दिए ।

यस नतिजासँगै टोटेनहमको १६ खेलबाट ३० अंक भएको छ । ब्रेन्टफर्डको १६ खेलबाट २० अंक छ । सोमबार राति भएको अन्य खेलमा लेस्टर सिटीले न्युक्यासल यूनाइटेड र फुलहयामले क्रिस्टल प्यालेसलाई समान ३–० ले हराउँदा ब्राईटनले साउथह्यामप्टनलाई ३–१ ले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्