मानव अधिकार रक्षक नै जातीय विभेद घटनाबाट पीडित



कालिकोट।  

यहाँ जिल्लामा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा वकालत गदै आउनु भएको अधिकारकर्मी तथा पत्रकार ३५ वर्षीय वीर तिरुवा जातीय विभेदको घटनाबाट पीडित हुनु भएको छ।

रास्कोट नपा–५ निवासी साझा खबर अनलाइनमा कार्यरत पत्रकार एवं दलित  अधिकारकर्मी तिरुवालाई सोही नपा–१ का ३० वर्षीय अशोक शाही, उहाँकी  पत्नी २७ वर्षीया साविना शाही, साली  २४ वर्षीया पशुविना शाही (प्रिया) र २७ वर्षीया मैना शाहीले सार्वजनिक स्थलमा जातीय विभेद गरी गाली गलोज र अपमानित गरेपछि उहाँ पीडित हुनु भएको हो ।

तिरुवाले आफूलाई सामाजिक रुपमा खलल् पुग्ने गरी गाली गरेको र सिंगोे दलित समुदायको अपमान गरी भेदभाव गरेको हुँदा पीडकलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ र (पहिलो संशोधन) ऐन, २०७५ को दफा ३ को उपदफा १२ अनुसार अनुसार हदैसम्मको सजाय गरिपाउँ भनि शुक्रबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा जाहेरी दर्ता गराउनु भएको छ ।

पीडितलाई आरोपितले पुस ६ गते सार्वजनिक स्थलमा ‘विभेदित शब्द’ प्रयोग गर्दै गाली गर्नुका साथै अपमान गरेको पीडितले आरोप लगाउनु भएको छ । साथै आरोपीहरुले सामाजिक सञ्जाल  फेसबुक मार्फत पनि जातीय विभेद हुने खालका विभिन्न अश्लील शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेको बताउनु भएको छ ।

जातीय विभेद तथा दुव्र्यवाहर गरेको भन्दै पीडित पक्षबाट जातीय छुवाछुत तथा दुव्र्यवाहर सम्बन्धी उजुरी अएकाले घटनाका विषयमा खोज अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख जयश्वर रिमालले नेपाल समाचारपत्रलाई जानकारी गराउनु भयो ।

जातीय विभेद घटनाका आरोपित शाहीको प्रतिक्रया लिनका लागि सम्पर्क गर्न टेलिफोन गर्दा सम्पर्क हुन सकेन ।

नेपालको संविधान २०७२ को धारा २४ मा दलितको हक र धारा ४० मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था गरिएको छ ।

यस्तै कसैले जातीय भेदभाव तथा छुवाछुत गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा–७ उपदफा(१) अनुसार तीन महिना देखि तीन वर्षसम्म कैद वा १ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्