पलाञ्चोकमा दम्पती हत्याकाे ४८ दिन : ‘त्रासले सर्वसाधारण विस्थापित’



काभ्रे । दम्पती हत्याको ४८ दिनसम्म हत्यारा पत्ता लगाउन नसक्दा पाँचखाल नगरपालिका ९ पलाञ्चोक भगवती साविक साठ्ठीघर भगवती गाविस ६ डाँडागाउँका सर्वसाधारण त्रसित छन् । घटनापछि छिमेकीहरु विस्थापित हुन थालेका छन् ।

‘२०७९ कार्तिक १९ गते दिउसो डाँडागाउँ निवासी ७८ वर्षीय रामबहादुर थापा मगर र ५९ वर्षीया गीता थापा मगर मृत अवस्थामा रहेको खवर प्राप्त भयो’– वडा अध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो–‘सोहि दिन वडामा अचार बनाउने तालिम सञ्चालन भईरहेको थियो । तत्कालै घटनास्थल पुग्दा दम्पतीको निर्मम र पाशवीक हत्या भएको देखियो । हामीले तत्कालै नजिकै रहेको प्रहरी कार्यालयमा खवर ग¥यौं । जिल्लाबाट प्रहरी प्रमुख एसपी चक्रराज जोशी सहितको टोली आएर अनुसन्धान ग¥यो । प्रहरीको विशेष अनुसन्धान टोली कुकुरसहित लिएर घटनास्थल आयो । तर पनि दम्पती हत्याको सुईको प्रहरीले पाउन सकेको छैन ।’ वडाध्यक्ष रामकाजी श्रेष्ठले घटना भएको लामो समय प्रहरीले अनुसन्धानबाट हत्यारा पत्ता लगाउन नसकेकै कारण छिमेकीहरु डरले विस्थापित भएको बताउनु भयो ।

‘दिउँसै निर्मम र पाशवीक तवरबाट हत्या भएका दम्पतीको हत्यामा संलग्न पक्राउ नपरेकै कारण स्थानीयहरु विस्थापित हुन थालेका छन्’– वडाध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो– ‘प्रहरीले अनुसन्धान पनि गरिरहैकै छ, तर हत्यारा पत्ता लाग्न सकेका छैनन ।’ डाँडागाउँको एकान्तमा रहेको उक्त घरमा रामबहादुर र उनको श्रीमती गीता मात्रै बस्दै आएका थिए । नजिकै उनका छोरा बुहारी थिए । छोरा दिनेश थापा मगरका अनुसार २०७९ कार्तिक १९ उनी बुबाआमाको घरमा पुगेका थिए । बुबाआमाले भनेकै काम उनले गरेको प्रहरीलाई बयान दिएका छन् । कात्तिक २० गते वडामा लब्सीको अचार बनाउने तालिम भएकाले दिनेश उता गएको बयान दिएका छन् । दिउसो १२ बजेको समयमा छोरा दिनेशले बुबा आमालाई पालैपालो फोन गर्दा दुवै जनाको फोन नउठेपछि श्रीमती गंगा थापालाई फोन गरेका थिए । गंगाले सासू ससुराको घरमा गएर हेर्दा दुवै जना रग्ताम्मे देखेर आत्तिएपछि दिनेशलाई फोन गरेकी थिईन् । दिनेश तालिम छाडेर मोटरसाईकलमा घर पुग्दा बुबाआमाको विभत्स दृश्य देखे । रामबहादुर थापाको टाउकोमा गहिरो चोट थियो भने अनुहारमा समेत चोट थियो । उनी खाटमा कोल्टे परेको अवस्थामा थिए । गीताका अनुहार चिन्नै नसकिने अवस्थामा थियो । घर वरपर रग्ताम्मे थियो । गीताको शव खाटको मुनी थियो । गलामा भएको तिलहरी, कानमा लगाएका बेरुवा, रिङ तथा अन्य गहना काटिएको अवस्थामा थियो । नाकमा भएको फुलीबाहेक सबै गहना लुटिएको थियो । राँगा, बाख्रा र सुंगर बिक्री गरेर घरमा रहेको १ लाख ८० हजार नगदसमेत लुटिएको थियो । कालो ब्यागमा रामबहादुरले रकम जम्मा गरेर राखेको छोरा दिनेशले बताएका छन् । घर वरीपरी गाँजा फेला परेको छ । छोरा बुहारी र बाबु आमा अलिक फरक स्थानमा बसोबास गर्छन् । घटना भएका बखत दम्पती चिच्याएको वा घटना घटाएको बारेमा आजसम्म कसैले चाल पाउन नसकेको प्रहरीले बताएको छ ।

‘विभत्स तरिकाले हत्या गरिएका दम्पतीका हत्यारा पत्ता लगाउन प्रहरीको सिआईबी टिम परिचालन भएको छ’– एसपी प्रहरी प्रमुख चक्रराज जोशीले भन्नुभयो– ‘निर्वाचनमा ब्यस्त हुनु परेकाले हामीले त्यति ध्यान दिन सकेनौं । सिआईबी टोलीले अनुसन्धान गरिरहेको छ । हत्यारा पत्ता लाग्न सकेको छैन ।’ प्रहरीले रामबहादुर र गीताको छोरा दिनेशलाई केहीँ दिन हिरासतमा राखेर अनुसन्धान ग¥यो । केही पत्ता लाग्न नसकेपछि तारेखमा छाडेको छ भने घटनास्थल वरपर प्रहरीको एउटा टोलीले विशेष निगरानी गरिरहेको छ । तर पनि स्थानीयहरु त्रसित भएर विस्थापित हुन थालेका छन् । विस्थापितहरु बजारमा आफन्तको बस्न थालेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दम्पतीको घरबाट रातिको समयमा बाल्न मिल्ने टर्च लाईट पनि चोरिएको छ । त्यही लाईटले रामबहादुरलाई टाउकोमा र गीतालाई अनुहार नै अनुहारमा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पोस्टमार्टम रिपोर्टमा कुटाईबाट निधन भएको उल्लेख छ । हत्यापछि गीतालाई खाट मुनी र रामबहादुरलाई खाटमा राखिएको थियो ।

केही दिनअघि पलाञ्चोक भगवती मन्दिरभित्रबाट दान पेटिकाको नगद चोरी लगेका थिए । उक्त चोरीमा संलग्नलाई पनि प्रहरीले पत्ता लगाउन सकेको छैन । काभ्रेमा भएका केहीँ जघन्य अपराधमा संलग्न भएकाहरु हालसम्म फेला परेका छैनन् । केहीँ वर्षअघि काभ्रेको कानपुर, बनेपाको सिनागाल, आईटी पार्क नजिकै हत्या गरिएका सर्वसाधारणका हत्यारालाई प्रहरीले अझै फेला पार्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्