अतिरिक्त स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस



काठमाडौं । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव (स्वास्थ्य समूहको अधिकृत १२औँ तह) मा रिक्त रहेको दुई पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकल क्रमशः १, २ र ३ नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटीको नाम १२औँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेका तीनमध्येबाट दुई जनालाई अतिरिक्त स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।

बाह्रौँ तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिम सेवा अवधी पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्नसक्ने स्वास्थ्यमा दुईवटा अतिरिक्त स्वास्थ्य सचिव (स्वास्थ्य सेवाको अधिकृत १२ औँ तह) खाली रहेको थियो । रिक्त रहेको ती पदमा बढुवा गर्न समितिले गत ३० कात्तिकमा सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरुले एघारौँ तहका अधिकृतहरुले १५ दिनभित्र व्यक्तिगत विवरण सचिवालयमा पेश गर्न भनेको थियो ।

प्रकाशित सूचनामा स्वास्थ्य सेवा ऐनको दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्न भन्दै योग्यता पुगेका कर्मचारीलाई व्यक्तिगत विवरण पठाई प्रतिस्पर्धामा सहभागी हुन भनिएको थियो । सोही अनुसार २१ जनाले व्यक्तिगत विवरण बुझाएका थिए ।

स्वास्थ्य सेवा ऐनको दफा २५ (२) मा ‘रिक्त पदको कम्तिमा ५० प्रतिशत थप उम्मेद्वारलाई कार्यसम्पादन क्षमताको आधारमा सिफारिस गर्ने र त्यसरी सिफारिस गरिएका उम्मेद्वारमध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहर्याएका उम्मेद्वारलाई बढुवाका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ ।

बढुवाका लागि नाम सिफारिसका लागि समितिले गत शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफलका लागि बैठक बसेको थियो । सोही बैठकले २१ जनाको निवेदन उपर छलफल गरि पेश गरिएका व्यक्तिगत विवरण र मूल्यांकनको आधारमा तीन जनाको नाम सिफारिस गरेको जनाएको छ ।

बढुवा समितिमा लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य अध्यक्ष हुने प्रावधान छ । यस्तै लोकसेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य पनि सदस्य हुने व्यवस्था छ ।

मुख्य सचिव, लोकसेवा आयोगद्धारा मनोनित सम्बन्धित विषयको विशेषज्ञ पनि सदस्य हुने प्रावधान छ । समितिमा स्वास्थ्य मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्