अत्याधिक धुवाँ फाल्ने २२ ओटा सवारी साधन कारबाहीमा



काठमाडौं । काठमाडौंका विभिन्न सडकमा गुडाउँदा अत्याधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । आज (बुधबार) ती सवारी साधनका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सोह्रखुट्टेमा गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । अत्याधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरि २२ वटा सवारी साधनका चालकलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

उक्त कार्यालयका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बिहान सोह्रखुट्टेमा ४० ओटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारबाहीमा परेका छन् ।

कारबाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग बबरमहल पठाइएको छ । सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना शुल्क भुक्तानी गरि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

प्रतिक्रिया दिनुहोस्