सरकारले पास गर्‍यो चार नीति

अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने


काठमाडाैं  ।

सरकारले चार महत्वपूर्ण नीति पारित गरेकाे  छ । गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९–२०८९ र स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ पारित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै, समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका राष्ट्रिय बालबालिका नीति २०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पास भएका सचिव पाण्डेयले जानकारी दिनुभयो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्थास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पुर्‍याउनुपर्ने उल्लेख छ ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधेसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख गरिएको छ ।

बालबालिका नीतिमा बालबालिकाका चार अधिकारको ग्यारेन्टी गरिएको छ । बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको सचिव पाण्डेयले जानकारी दिनुभयो ।अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपांगको सबै निकायमा पहुँच, रोजगारीको व्यवस्था, सहुलियतको व्यवस्था र स्वास्थ्य उपचारबारेको विषय मुख्यरूपमा प्राथमिकताका साथ राखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।