पूर्वराजा ज्ञानेन्द्र जनकपुर र चितवन जाँदै



काठमाडौं ।

 एक महिनाअघि झापा पुग्नुभएका पूर्वराजा ज्ञानेन्द शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा. सागर तिमल्सिनासहित झापा पुग्नुभएको थियो ।

झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ । झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र परिवार जनकपुर भ्रमणमा निस्कन लाग्नुभएको हो । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए ।

त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उहाँ होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ । स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘अहिलेसम्म जनकपुरको भ्रमण तय भएको छ । त्यसपछि के के कार्यक्रम तय हुन्छ जानकारी छैन । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।’

चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा ‘क्रिसमस डे’ मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ । चितवनमा पूर्व युवराज्ञी, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।

चितवनपछि उहाँहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ ।प्रायः जाडो छल्न तयारी भ्रमणमा निस्कने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले ती जिल्लामा राजनीतिक भेटघाट गर्ने गर्नुभएको छ । गत वर्ष झापा पुग्दा राजनीतिक भेटघाट गरेका ज्ञानेन्द्रको यो वर्षको भ्रमण नितान्त निजी भनिएको छ ।

उच्च स्रोतका अनुसार जनकपुरमा केही भेटघाटका कार्यक्रम तय भएको छ । दुई वर्षअघि झापा भ्रमणको क्रममा पूर्वराजा शाह पत्नीसहित भारतको सिलगुढी पुग्नुभएको थियो ।

निर्वाचनमा राप्रपाको विजयीपछि केही खुसी देखिनुभएका पूर्व राजा शाहले जनकपुरमा केही राजावादीसँग घेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । झापामा हुन नसकेको भेटघाट जनकपुरमा गर्नेगरी आन्तरिक तयारी गरिएको बुझिएको छ । सुरक्षा टोलीले जनकपुर, चितवन र सिमरामा सुरक्षा अवस्थाबारे जानकारी लिएर भ्रमणको तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्