ओली, नेपाल र लिङ्देन सर्वसम्मत



काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिनुभएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन पनि गरेको थियो । एमालेको प्रतिनिधिसभा संसद्मा ७८ सांसद छन् ।

नेकपा एकीकृत समाजवादीले पनि संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई छनोट गरेको छ । आगामी सरकारमा आलोपालो प्रधानमन्त्री बनाउने सत्ता गठबन्धनको आन्तरिक सहमति दिएका दलहरूले पार्टी नेतृत्वलाई नै दलको नेता चयन गरेका छन् । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा १० सिट जितेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दलको नेतामा सर्वसम्मतिले छनोट गरेको छ । सरकार गठनअघि दलको नेता छनोट गर्नुपर्ने प्रावधानअनुसार अध्यक्ष लिङ्देनलाई पार्टीले सर्वसम्मतिमै संसदीय दलको नेता चयन गरेको राप्रपाले जनाएको हो । राप्रपाका १४ सांसद छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मतिले दलको नेता चयन गरेको छ । सोमबार बिहान बूढानीलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो । रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।

यसअघि पार्टी प्रवक्ता मुकुल ढकालले दलको नेताका लागि चुनाव हुने बताए पनि सोमबार बिहान गोप्य रूपमा बसेको बैठकले लामिछानेलाई नै दलको नेता चुनेको हो । रास्वपा सभापति लामिछानेले सरकारमा जाने वातावरण बनाउनजका लागि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र बनाउनुभएको छ ।

नेपाली कांग्रेस बाहेकका दलहरूले आफ्नो संसदीय दलको नेता सर्वसम्मतिले छनोट गरेका छन् । नेकपा माओवादीले भने संसद्को शपथ ग्रहणपछि दलको नेता छनोट गर्ने बताएको छ । उक्त पार्टीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै संसदीय दलको नेता छनोट गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्