फुटबल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न



काठमाडौं ।  

एनके सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालयद्वारा आयोजित तेस्रो अन्तर विद्यालय स्तरीय फुटबल हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

प्रतियोगितामा ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका आयुषराज पन्त र सिद्धार्थ तामाङको समूह प्रथम, आइडल मोडल स्कुलका कृश शाही र प्रणय महर्जनको समूह द्वितीय, सैनिक आवासीय महाविद्यालय भक्तपुरका सुगम बस्नेत र विधित उपाध्यायको समूह तृतीय तथा बेबिलोन नेशनल स्कुलका कृशा बस्नेत र नियम मान सिंह बस्नतेतको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि दावा लामा र विशेष अतिथि खालिद अब्दुल्लाह इब्राइमले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो। प्रतियोगितामा प्रथम हुने ग्यालेक्सी पब्लिक स्कुलले बुद्ध एयरद्वारा प्रायोजित माउन्टेन फ्लाइटको तीन ओटा टिकट प्राप्त ग¥यो भने प्रतियोगिताको अन्तिम चरणमा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरियो।

प्रतियोगितामा उपत्यकाका २० विद्यालयको सहभागिता रहेको थियो। ती विद्यालयलाई पाँच समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। समूह ‘ए’ मा विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महा विद्यालय, पाठशाला नेपाल फाउन्डेसन र स्ट्याण्डर्ड को एड स्कुल, समूह ‘बी’मा एभरेष्ट स्कुल, माउन्ट भ्यु इङ्लिस स्कुल, निर्भाना एकेडेमी र भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी’मा आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल र पुष्प सदन बोर्डिङ स्कुल, समूह ‘डी’मा ब्राइट फ्युचर स्कुल, अक्सिडेन्टल स्कुल र ग्यालेक्सी पब्लिक स्कुल तथा समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलले सहभागिता जनाएका थिए।

प्रतियोगिता विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर सञ्चालन गरिएको थियो। विश्वकप फुटबल खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बीचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले जानकारी गराउनुभयो। उहाँले यी र यस्तै प्रकारका रचनात्मक कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिने जानकारी गराउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, फुटबल खेलाडी तथा पदाधिकारीको उपस्थिति रहेको थियो। प्रतियोगिता मङ्सिर २६ गते सुरु भएको थियो। प्रतियोगिता प्रत्येक ४ वर्षको अन्तरमा विश्वकप फुटबललाई लक्षित गरी सञ्चालन गर्ने गरिएको कार्यक्रम संयोजक अनुप मुखियाले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्