दोहा, (एजेन्सी) ।
फिफा विश्वकप कतार २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति साविकको विजेता फ्रान्सको जितसँगै सेमिफाइनलमा पुग्ने सबै चारमा टोलीको टुंगो लागेको हो ।
अब सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना तथा मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको क्वार्टरफाइनलमा फ्रान्स र मोरोक्कोले आ–आफ्नो खेल जित्दै सेमिफाइनल यात्रा तय गरेको हो । उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता फ्रान्सले अल बेयत रंगशालामा भएको अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत् अग्रता दिलाएका थिए । खेलको १७औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सीधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए ।
फ्रान्सले अग्रता लिएको पाँच मिनेटपछि इंग्ल्यान्डले बराबरी गर्ने अवसर पाए पनि इंग्लिस कप्तान ह्यारी केन असफल बने । दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले उक्त पेनाल्टी हान्ने अवसर दिएका थिए ।
तर, खेलको ७८औं मिनेटमा फ्रान्सले पुनः अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो । ८४औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो ।
त्यसैगरी, मोरक्कोले शनिबार राति नै भएको तेस्रो क्वार्टरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । अल थुमामा रंगशालामा जित दर्ता गर्दै मोरोक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र समेत बनेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेका थिए । बल पोसेसनमा पोर्चुगलले पकड जमाए पनि मोरोक्कोले काउन्टर अट्याकमा पटक–पटक समस्या दिएको थियो । पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो । पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाए पनि क्रसबार बाधक बन्यो ।
खेलको ४२औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो । युसुफ एन नेसरीले हेडरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए । लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर, क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएका थिए । तर, उक्त प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
खेलको ८३औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए । इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काए पनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए । उनले एक मिनेटको अन्तरमा दोस्रो फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए । यस जितसँगै मोरोक्कोले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ । त्यस्तै, अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् । क्रोएसिया र अर्जेन्टिनाबीचको खेल आगामी मंगलबार तथा मोरोक्को र फ्रान्सबीचको खेल बुधबार राति हुनेछ ।











प्रतिक्रिया