सामाजिक सञ्जालबाट यौन प्रस्ताव राख्दै ब्ल्याकमेलिङ

दाङमा ‘हनि ट्रयापिङ’ बढेको बढ्यै

0
Shares

दाङ ।  

पाँच वर्षअघि दाङको तुलसीपुरमा दुई जना व्यवसायीलाई अपहरण गरी हत्या गरियो । यस क्षेत्रकै प्रतिष्ठित व्यापारीलाई ‘हनि ट्रयाप’मा पारेर सल्यान र रोल्पाको सिमाना पु¥याएर हत्या गरिएको थियो । मोटो रकम असुल गर्ने उद्देश्यसहित ती व्यापारीको अपहरण गरिएको भए पनि उनीहरूलाई सुरक्षित गर्न नसकेर हत्या नै गरिएको थियो ।

गत वर्षको असोजमा घोराहीमा ‘हनि ट्रयाप’को अर्को घटना सार्वजनिक भयो । दाङ घोराहीका एक पुरुषलाई ‘हनि ट्रयापिङ’गरी १८ लाख रुपियाँ असुल गर्न खोजेका तीन महिला पक्राउ परेर केही समयपछि छुटे । दाङ देउखुरी जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनीहरू छुटेका थिए । उनीहरूले घोराहीका एक पुरुषलाई ‘हनि ट्रयाप’मा पारेर एक लाख नगद र थप १७ लाखको चेकसमेत बुझिसकेका थिए । त्यसपछि बल्ल पीडित जिल्ला प्रहरी कार्यालयमा पुगेपछि घटना सार्वजनिक भएको थियो ।

अहिले पुनः दाङमा ‘हनि ट्रयापिङ’को घटना भएको छ । दाङमा हनि ट्रयापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘हनि ट्रया’पको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिला पक्राउ परेका छन् ।घोराही १० नारायणपुरका रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी कृष्णीकुमारी बस्नेत र गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्जिव बेलबासेले जानकारी दिनुभयो ।

तुलसीपुरका एक जना व्यवसायीसँग ब्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर महिलाले धम्की दिएपछि प्रहरीले पक्राउ गरेको हो । महिलाले यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि पीडित व्यवसायीले आफूलाई प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक बेलवासेले घटनाको मतियारको रूपमा अनुष्कालाई प्रयोग गरिएको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

अनुष्कासँग दुईवटा नागरिकता रहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुद्दा दर्ता भई घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसी तथा प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो ।प्रहरीका अनुसार उनहरूवीच मोबाइल र मेसेन्जरबाट कुराकानी भएको छ, जसमा पाँच करोडको बार्गेनिङ गरेको देखिएको छ । उनीहरूले नगद ३० लाख बुझिसकेको पनि प्रहरीले जनाएको छ । थप पैसा माग्नेक्रममा उनीहरू पक्राउ गरेका हुन् ।

पीडित भनिएका पुरुष विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णी गहतराज डिभोर्स भएकी एकल महिला हुन् । सामान्य चिनाजानपछि उनीहरू नजिकिँदै गएको र पछि अन्य दुईजना साथीको सहयोगमा बार्गेनिङ शुरू गरेको प्रहरीले जनाएको छ । पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै पटकपटक ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । तीनजनाविरुद्ध अपराधिक लाभ कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

महिलाको सुन्दरताको प्रयोग गरेर स्वार्थ पूर्ति गर्ने ‘हनि ट्रयापिङ’ पछिल्लो समय मौलाउँदै गएको छ । यस्ता घटनामा प्रहरीले ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुर सजायमा मुद्दा लगाउँदै आएको छ ।