काठमाडौं ।
आन्तरिक राजश्व कार्यालयको कर्मचारी भएको बताउँदै राजधानीका विभिन्न ठाउँमा ठगी गर्दै हिँडेको एउटा संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले त्यस्तो क्रियाकलापमा संलग्न रहेका ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
आन्तरिक राजश्व विभागको ड्रेस कोडसहित नक्कली परिचयपत्र लगाएर सो समूहले नयाँ बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट र पसलबाट रकम असुल गरिरहेको अवस्थामा पक्राउ गरेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिनुभयो । एसपी मैनालीले भन्नुभयो– ‘सो क्षेत्रमा रहेका होटल, रेस्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुली रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’ उहाँले पक्राउ परेकाहरूबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगायतका समान बरामद भएको बताउनुभयो ।
आइतबार प्रहरीले सार्वजनिक गरेको आरोपीहरूमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागरजंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।
स्थानीयको जाहेरीका आधारमा अनुसन्धान गर्दा उहाँहरूलाई पक्राउ गरिएको जानकारी दिँदै एसपी मैनालीले भन्नुभयो– ‘केही दिनदेखि नयाँ बसपार्क इलाकामा विभिन्न होटल लज, पसलहरू तथा फुटपाथ पसलबाट समेत रकम असुल गरेको र पीडितबाट प्राप्त रसिद र मोबाइल–पेबाट समेत गरी ५ लाखभन्दा बढी संकलन गरेको पाइयोे ।’











प्रतिक्रिया