काठमाडौं ।
संसद्मा सबै वर्ग, समुदाय र सम्प्रदायको प्रतिनिधित्व हुनेगरी ल्याइएको समानुपातिक निर्वाचन प्रणालीलाई दलहरूले आफू अनुकूल बनाएका छन् । लामो राजनीतिक बहस र आन्दोलनपछि प्राप्त समावेशी–समानुपातिक प्रणालीलाई राजनीतिक दलहरूले आफ्ना र आफूअनुकूलका व्यक्ति व्यवस्थापनको माध्यम बनाएको गुनासो व्याप्त छ ।
ठूला दलहरूले नै समानुपातिक प्रणालीतर्फ आफन्त, नजिकका र आयातीत व्यक्तिहरूलाई मनोनयन गराएर उक्त प्रणालीमाथि नै प्रहार गरेको भन्दै विरोध पनि भइरहेको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समानुपातिकमा पार्टी सभापति तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणलाई समानुपातिक सांसद बनाएको छ ।
त्यस्तै, देउवा निकट नेता पार्टी प्रवक्ता तथा पूर्व मन्त्री डा.प्रकाशशरण महत, पटकपटक मन्त्री भइसकेका पूर्व उपसभापति विमलेन्द्र निधिलाई समेत कांग्रेसले समानुपातिकमा राखेपछि पिछडिएको क्षेत्रका नेताहरू पछि परेको भन्दै पार्टी नेतृत्वप्रति आलोचना बढेको छ ।
काठमाडौं क्षेत्रनम्बर ४ बाट समानुपातिकको बन्द सूचीमा परेर सांसद हुन नपाएकी आरती कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीमा लामो लगानी गरेका तर पटकपटक आश्वासन मात्रै पाउँदै बसेका नेताहरू यसपटक पनि आश्वासनमै सीमित हुनुपरेकोे छ ।
शीर्ष नेतृत्वनिकट रहेका र आर्थिक लेनदेन गर्नसक्नेहरूलाई समानुपातिक सांसद बनाइँदा लामो समय पार्टीमा योगदान दिएकाहरू भने कमै मात्र पर्ने गरेका छन् ।’ राजनीतिक दलहरूले समावेशीताको मुद्दालाई आफूअनुकूल बनाएर निकट नेताहरूलाई संसद्मा प्रतिनिधित्व गराउँदा वर्गीय मुद्दा व्यवहारिक हिसाबले ओझेलमा पर्ने खतरा बढेको कार्कीको भनाइ थियो ।
कांग्रेससँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरूले समेत समानुपातिक प्राणलीलाई आफू निकटका नेता व्यवस्थापनको माध्यम बनाएको सम्बन्धित पार्टीका कार्याकर्ताहरूले गुनासो गरेका छन् । एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलपत्नी नैनकला थापा मगरलाई समानुपातिक सांसद बनाएको छ । त्यस्तै, पार्टी सचिव भीम आचार्यकी पत्नी निरादेवी खनाल आचार्यलाई प्रदेश १ को सांसद बनाइएको छ ।
एमालेको समानुपातिक सूचीमा एमालेमै संघर्ष गरेकाहरूलाई भन्दा ‘आयातीत’हरूलाई शीर्ष क्रममा राखिएको थियो । शनिबार बसेको बैठकले चुनावको संघारमा अर्कै पार्टीबाट आएका ६ जनालाई समानुपातिकबाट सांसद बनाउने गरी निर्वाचन आयोगमा सूची बुझाएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।
एमालेले खसआर्य क्लस्टरको दोस्रो नम्बरमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सांसद बनाएपछि पार्टी नेतृत्वप्रति तीव्र आलोचना बढेको छ । अघिल्लोपटक एमालेकै समानुपातिक सूचीको पाँचौं नम्बरमा रहे पनि ढकाल सांसद बन्न पाउनुभएको थिएन ।
यसपल्ट ‘ग्यारेन्टी’सहित दोस्रो नम्बरमा राखिएका ढकालमाथि अर्कै पार्टीका नेता भएर एमालेका नेताहरूको भाग खोस्न आएको आरोप लागेको छ । पार्टी अध्यक्ष ओलीले ढकाललाई सांसद बनाउने निर्णय गरेर पार्टीमा लामो राजनीतिक संर्घष गरेका नेताहरूलाई बाहिर राख्नुले पार्टीमा विचलन आउने भन्दै एमालेका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा व्यापक विरोध जनाएका छन् ।
एमालेका नेता–कार्यकर्ताले भिडेर ल्याएको भोट अर्कै पार्टीका अध्यक्ष सांसद् बनाउन नभएको भन्दै चर्को विरोध पनि भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगनिकट ढकाललाई रोक्न नसकिएको एमालेका एक केन्द्रीय सदस्यले बताए । चुनावकै संघारमा एमालेमा प्रवेश गरेर समानुपातिक सांसद् बन्नेहरू अरू पनि छन् ।
एमालेले आदिबासी जनजातिअन्तर्गत पठाएका २ जना आयातीत हुन् । यो क्लस्टरबाट चुनावकै बेला पार्टी परिवर्तन गरेका व्यवसायी देवीप्रसाद भट्टचन पुरुषमा पहिलो नम्बरमा पर्नुभएको छ । एमाले प्रवेश गर्नुअघि उहाँ कांग्रेसमा आबद्ध हुनुन्थ्यो । कांग्रेस सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनअघि २०७८ साउन १५ गते उहाँलाई संगठन विभागको उपप्रमुखमा मनोनित गर्नुभएको थियो ।
तर, उहाँको पहिलो प्रयास भने बाग्लुङ– २ बाट प्रत्यक्ष उम्मेदवार बन्ने थियो ।त्यस्तै, सोही क्लस्टरको दोस्रो नम्बरमा रहेका पूर्वमन्त्री हेमराज राईलाई एमालेले सांसद बनाउने वाचासहित पार्टीमा भित्र्याएको थियो । राई चुनावअघि जनता समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गर्नुभएको थियो । जसपा उपाध्यक्ष राईले एमालेको राजनीति गर्न शुरू नगर्दै समानुपातिक सांसद बनेकोमा पार्टीभित्र खैलाबैला मच्चिएको छ ।
एमालेबाट मधेसी कोटामा पठाइने ५ जनामा पनि ३ जना पार्टी फेरेकाहरू नै परेका छन् । मधेसी कोटाबाट पुरुष क्लस्टरको पहिलो नम्बरमा परेका पूर्व उपसभामुख गंगाप्रसाद यादव २०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गर्नुभएको हो । कांग्रेसबाट दुईपटक संविधान सभा सदस्य भइसकेका अमृतलाल राजवंशी मधेसी कोटाकै दोस्रो नम्बरमा पर्नुभएको छ ।
उहाँ सांसद बन्नकै लागि कांग्रेसबाट चुनावअघि एमाले प्रवेश गर्नुभएको थियो । एमालेले ‘अल्पसंख्यक’को कोटासमेत पूर्ति गर्ने गरी सांसद् बनाइएका राजवंशी कांग्रेसका वडास्तरका कार्यकर्ताले समेत पत्याउन छाडेका नेता हुन् । उहाँ गत १४औं महाधिवेशनमा कांग्रेस महाधिवेशन प्रतिनिधि हुन खोज्दा क्षेत्रीय प्रतिनिधिमै हार्नुभएको थियो ।समानुपातिक सूची बनाउनु अघिल्लो दिन एमाले प्रवेश गरेकी अमृता अग्रहरिले पनि अवसर पाउनुभएको छ ।
यसअघि जनता समाजवादी पार्टीबाट सांसद् बनेकी उहाँलाई एमालेको सचिवालय बैठकमै एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । अध्यक्ष ओलीकै तजबिजमा मधेसी कोटाको दोस्रो नम्बरमा पर्न सफल अग्रहरिले एमालेका पुराना नेताहरूलाई पछि पारेको भन्दै असन्तुष्टि चुलिएको छ । पार्टी नेतृत्वको आलोचना भइरहे पनि नेताहरूले विरोधका स्वरहरू बाहिर ल्याउन नसकेको कार्यकर्ताको भनाइ छ ।
उता जनता समाजवादीले समेत आफन्तलाई सांसदमा प्रथमिकता दिएको छ । समानुपातिकमा ५ सिटमा पाएको जसपाले नेता अशोक राइकी पत्नी शुशिला श्रेष्ठलाई समानुपातिक सांसद बनाएको छ । नेकपा माओवादी केन्द्रले पनि नेता शिवपुजन यादवकी पत्नी मीना यादवलाई समानुपातिक सांसद बनाएको छ ।
समानुपातिकमा दलका शीर्ष नेताहरूले आफ्ना पत्नी, नातेदार, नजिकका र अर्को दलबाट आयातीत व्यक्तिहरूलाई सिफारिस गरेर समानुपातिक निर्वाचन प्रणालीमाथि नै वितृष्णा बढाएको भन्दै राजनीतिक वृत्तमा चर्को आलोचना भइरहेको छ ।











प्रतिक्रिया