क्वार्टरफाइनलमा ब्राजिलको प्रतिद्वन्द्वी क्रोएसिया



कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको अन्तिम आठमा ब्राजिलले क्रोएसियालाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ ।

प्रतियोगिताअन्तर्गत सोमबार राति भएको अन्तिम १६ को खेलमा एसियाली राष्ट्र जापान र दक्षिण कोरियामाथि जित हासिल गरेपछि ब्राजिल र क्रोएसिया एकआपसमा भिड्ने समीकरण बनेको हो । दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४–१ गोलअन्तरले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै चार गोलको फराकिलो अग्रता बनाएको थियो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गर्दै कोरियालाई समस्या दिएको थियो । कोरियाले पाएको केही अवसरमा गोलरक्षक एलिसन बाधक बनेपछि गोल फर्काउन सकेन ।

खेलको सातौं मिनेटमा ब्राजिलले भिनीसियस जुनिअरको गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको बललाई उनले नियन्त्रणमा राख्दै संयमित फिनिस गरे । उनले बायाँ भागबाट गरेको प्रहारमा कोरियाली डिफेन्स र गोलरक्षक बिट भएका थिए । खेलको १३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरे । पेनाल्टी क्षेत्रभित्र रिचार्लिसनलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २९औं मिनेटमा रिचार्लिसनले ब्राजिललाई तीन गोलले अघि राखे । उनी आफैंले पेनाल्टी क्षेत्र बाहिर उत्कृष्ट बल नियन्त्रण गर्दै सुरु गरेको मुभ अन्त्यमा फिनिस गरेका थिए । थियागो सिल्भाले दिएको अन्तिम पासलाई उनले सहजै फिनिस गरेका थिए ।

खेलको ३६औं मिनेटमा ब्राजिलले चौथो गोल थप्यो । भिनिसियस जुनिअरको पासमा लुकास पाक्वेटाले गोल गरे । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको पहिलो टचको प्रहार गोलरक्षक र डिफेन्स पार हुँदै गोल भएको थियो । इन्ज्युरी समयमा पाक्वेटाकै प्रहार गोलरक्षक किम सुङयुले विफल पारे । दोस्रो हाफको सुरुवातमा एलिसनले उत्कृष्ट बचाउ गर्दै कोरियालाई खेलमा फर्कन दिएनन् । वान भर्सेस वानमा ह्युङ मिन सनको प्रहार विफल पार्दै उनले खेल ४–० नै राखे ।

तर, ७६औं मिनेटमा एलिसनले कोरियाको गोल बचाउन सकेनन् । स्युङहो पाइकले फ्रिकिकबाट आएको रिबाउन्डलाई पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरे । ब्राजिलले अब क्वार्टरफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।यसअघिको खेलमा क्रोएसियालाई क्वार्टरफाइनलमा पु¥याउन गोलरक्षक डोमिनिक लिभाकोभिच नायक बने । उनले टाइब्रेकरमा जापानको तीन पेनाल्टी प्रहार विफल पारेका थिए । टाइब्रेकरमा जापानलाई ३–१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

अल जनौब रंगशालामा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरसम्म लम्बिन पुग्यो ।जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पु-याए । मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योसिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

खेलको सुरुवातमा क्रोएसियाले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । त्यसपछि जापानले बल पोसेसनमा रहँदा संयमित आक्रमण गर्दै क्रोएसियालाई दबाब दिइरह्यो । जसअनुसार खेलको ४३औ मिनेटमा रिबाउन्ड बलमा डाइजेन माइदाले गोल गर्दै जापानलाई पहिलो हाफसम्म १–० ले अघि राखे ।

जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल उक्त गरेको हो । तर, दोस्रो हाफमा क्रोएसियाका लागि खेलको ५५औं मिनेटमा ईभान पेरिसिचले बराबरी गोल फर्काउन सफल भयो । डेजान लोभ्रेनको लामो पासमा पेरिसिचको शक्तिशाली हेडर गोलरक्षक गोन्डाले डाइभ दिए पनि बलसम्म पुग्न सकेनन् ।

त्यसलगत्तै दुवै गोलरक्षकले लगातार बचाउ गर्दै खेल बराबरीमा राखे । खेलाडी परिवर्तन गरेपछि जापान केही बलियो देखिए पनि आक्रमण सदुपयोग गर्न भने सकेन । निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि अतिरिक्त समयमा दुवै टोलीे रक्षात्मक देखिए । गोलका लागि केही अवसर सिर्जना भएको अतिरिक्त समयमा क्रोएसियाले दबाब बनाएको थियो ।

अर्कोतिर खेलको ५७औं मिनेटमा जापानी काउन्टर अट्याकमा गोलरक्षक डोमिनिक लिभाकोभिच बाधक बने । वातारु एन्डोले २५ यार्ड टाढाबाट गरेको प्रहार उनले मुस्किलले क्रसबार माथि हुत्याईदिए । ६३औं मिनेटमा गोन्डाले अर्कोतर्फ उत्कृष्ट बचाउ गरे । लुका मोड्रिचको भलीलाई उनले डाइभ दिँदै विफल पारे ।

प्रतिक्रिया दिनुहोस्