स्याङ्जा र बाजुरामा कांग्रेसको अग्रता कायमै



काठमाडौं  । 

गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी रहेको स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिष्पर्धा छ । जारी मतगणनामा ५ हजार २ सय १७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९ सय ७५ को मतान्तरले अग्रता लिनुभएको निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ । ७० हजार १ सय ९९ मत खसेको उक्त क्षेत्रमा ६४ हजार ९ सय ५४ मतगणना भएको छ ।

जसमध्ये कांग्रेस उम्मेदवार गुरुङले २९ हजार ५ सय ६६ मतसहित अग्रता लिनुभएको छ भने एमालेकी अर्यालले २३ हजार ५ सय ९१ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरूबीचको मतान्तर शनिबार रातीसम्म ५ हजार ९ सय ७५ छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ मत ल्याउनु भएको छ ।

त्यस्तै, बाजुरामा कांग्रेसका बद्री पाण्डेले ४ हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ । बुधबार बेलुकीबाट शुरू भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको छ । उहाँहरू बीचको मतान्तर ४ हजार ५ सय ५८ रहेको छ ।

उहाँहरूको मतान्तर र अव गन्ने मतको तथ्यांक हेर्दा दुवै जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारले जित्न सक्ने देखिएको छ । देशभरको मत गणना सकिँदै गर्दा प्रतिनिधिसभामा हालसम्म कांग्रेसले ५५, एमालेले ४४ र माओवादी केन्द्रले १७ सिट प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादी १०, रास्वपा, राप्रपा र जसपाले ७–७ सिट पाएका छन् भने लोसपाले ४ सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्