१९ औं हस्तकला व्यापार मेला मंसिर २३ गते शुरु हुने


काठमाडौं ।

यही मंसिर २३ गते शुक्रबारदेखि २७ गते मंगलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागिएको हो।बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५० वटा स्टल रहनेछ ।

नेपालमा प्रत्येक वर्ष नियमित रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुने सन्देश स्थापित गर्ने प्रयास स्वरुप विगतमा झै यस वर्ष पनि मेलाको आयोजनालाई निरन्तरता दिइएको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पत्रकार भेटघाटमा जानकारी दिनुभयो ।‘नेपालमा हरेक वर्ष त्यही समयमा वार्षिक कार्यक्रमको रुपमा व्यापार मेला हुने सन्देश प्रवाह अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न हामीले भरमग्दुर प्रयास गर्दै आएका छौं।यस पटकको मेलालाई पनि सोही प्रयासको कडीको रुपमा लिएका छौं ।’ अध्यक्ष शाक्यले भन्नुभयो हरेक वर्ष एकै समयमा मेला हुनेलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न खोजे व्यापारसंगै विदेशी पर्यटन प्रवद्र्धन गर्न सघाउने छ ।’ अन्तर्राष्ट्रिय स्तरमा सो मेलाको प्रवर्द्धन लागि महासंघका अतिरिक्त नेपाल सरकारका कुटनीतिक नियोग र अन्य निकायसंग समन्वय गर्दै आएको पनि अध्यक्ष शाक्यले बताउनुभयो ।

महासंघका उपाध्यक्ष डिल्लीरत्न तुलाधरले नेपाली हस्तकलाका सामान सहज रूपमा विदेश निर्यात गर्न र उपहार लान सक्ने वातावरण सरकारले तयार गर्नुपर्नेमा जोड दि‌दै मेलाले उत्पादित सामग्री प्रदर्शनीमा ठूलो टेवा पुर्‌याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अबदेखि तीन वर्षभित्र महासंघले आयोजना गरेको कुनै पनि एउटा हस्तकला मेलामा सहभागी हुने हस्तकला व्यवसायीलाई विदेशमा हुने नेपाली हस्तकला मेलामा विशेष प्राथमिकता दिइने जानकारी दिनुका साथै हस्तकला मेलालाई अन्तर्राष्ट्रिय विमानस्थल भएका अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने महासंघले सोच बनाएकाे बताउनुभयाे ।

मेलाले हस्तकलाको सामग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन, हस्तकलाको सामग्रीको बजारको विकासमा टेवा पु-याउने, हस्तकला र नेपाली संस्कृतिको सम्बन्ध बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास महासंघले लिएको छ ।

मेलामा नेपालमा बनेका र नेपालमै बनाऊ अवधारणा अनुरुप वस्तुहरु प्रदर्शन हुने पनि महासंघले जनाएको छ ।महासंघका अनुसार मेलाको अवसर पारेर ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको कलाकारको सम्मान, गत आर्थिक वर्षमा हस्तकलाका सामग्री निर्यात गर्ने अग्रणी निकासीकर्ताहरुलाई सम्मान गरिने छ ।

मेलासंगै १७ औं हस्तकला प्रतियोगिता पनि हुने महासंघले जनाएको छ।काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानवमुखाकृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गरिने छ ।कला प्रदर्शनी अन्तर्गत फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थांका गरी तीन वटा विधामा कला प्रदर्शनी हुने पनि महसंघले जनाएको छ ।

करिब १२ अर्ब मूल्य बराबरको हस्तकलाका वस्तुहरु वर्षेनी ६० वटा देशमा नियात हुने गरेको पाइएको छ । महासंघका अनुसार हस्तकलामा करिब ८ लाख व्यक्तिहरु संलग्न रहेको छ । हस्तकलालाई नेपालको मुख्य निर्यातमूलक उद्योगको रुपमा लिइन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।