क्यामरुन र सर्बियाले अंक बाँडे



दोहा, एजेन्सी । 

क्यामरुनले उत्कृष्ट पुनरागमन गर्दै सर्बियासँग अंक बाँड्न सफल भएको छ । दुई मिनेटको अन्तरमा दुई गोल गर्दै क्यामरुनले सर्बियालाई ३–३ गोलको बराबरीमा रोकेको हो । यो नतिजापछि क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेशको सम्भावनालाई पनि कायमै राखेको छ ।

सोमबार अल जनुब स्टेडियममा भएको खेलमा जिन–चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले सुरुवाती अग्रता लिएको थियो । कास्टेलेटोको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।पहिलो हाफको इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बियाले २–१ को अग्रता लिएको थियो । इन्जुरी समयको पहिलो मिनेटमा स्ट्रहिन्जा पाभ्लोभिचले गोल गरे भने यसको दुई मिनेटपछि मिलान्कोभिच साभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाएका थिए ।

खेलको ५३औं मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३–१ ले अघि बढ्यो । ६४औं मिनेटमा क्यामरुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसको दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यामरुनलाई खेलमा फर्काउन सफल भयो । यस बराबरीसंगै समूह ‘जी’ मा क्यामरुन र सर्बियाको समान एक–एक अंंक भएको छ । पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए । क्यामरुनले अब समूहको अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछन् ।

स्पेन र जर्मनी बराबर

विश्वकप २०२२ अन्तर्गत आइतबार राति भएको समूह ‘ई’ को खेलमा स्पेन र जर्मनीले रोमान्चक बराबरी खेलेका छन् । अल बेयत रंगशालामा आइतबार भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि दुवैले समान अंक बाँडेका थिए । स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । दुवै टोलीका लागि वैकल्पिक फरवार्डले गोल गरेका थिए । स्पेनका अल्भारो मोराटाले अग्रता दिलाउँदा जर्मनीका लागि निकलास फुलक्रुगले बराबरी गोल फर्काएका थिए ।

खेलको सुरुवातबाटै बल पोसेसन राख्दै खेलेको स्पेनका लागि छैटौं मिनेटमा अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । ड्यानी ओल्मोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक म्यानुएल नोएरले छेक्दा पनि क्रसबारमा लागेर बाहिरियो । खेलको ४०औं मिनेटमा जर्मनीले गोल गरे पनि त्यसले मान्यता पाएन । एनेटोनियो रुडिगरले फ्रिकिकमा हेडरमार्फत गोल गरे पनि उनी अफसाइड रहेको भीएआरमा देखिएको थियो ।

खेलको ५६औं मिनेटमा स्पेनले आफ्नै पेनाल्टी क्षेत्रभित्र बल गुमाउँदा जर्मनीले अग्रता लिने अवसर पाएको थियो । तर, लगातार पासपछि जोशुवा किम्मिखको अन्तिम प्रहार गोलरक्षक उनाइ सिमोनले विफल पारे । खेलको ६२औं मिनेटमा स्पेनले वैकल्पिक फरवार्ड अल्भारो मोराटाको गोलमा अग्रता लियो । जोर्डी अल्बाको क्रसमा मोराटाले ६ यार्ड बक्सको अगाडिबाट गोल गरे । उनले गोलरक्षक नोएर र डिफेन्डर निकलास सुलको बीचमा पसेर फिनिस गरेका थिए ।

खेलको ८३औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । स्पेनले आफ्नै हाफमा बल गुमाएपछि काउन्टरमा जर्मनीका लागि निकलास फुलक्रुगले गोल गरे । उनले जाल मुसियालाले नियन्त्रणमा लिएको बलमा पेनाल्टी क्षेत्रको ठीक भित्रबाट शक्तिशाली प्रहार गर्दै स्कोर बराबरीमा ल्याए । उक्त समूहमा अब चारै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको समान तीन–तीन अंक तथा जर्मनीको एक अंक रहेको छ ।

क्रोएसिया शीर्ष स्थानमा

आइतबारै भएको समूह ‘एफ’ को खेलका क्यानाडालाई ४–१ गोलअन्तरले हराउँदै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । खलिफा अन्तर्राष्ट्रिय रंगशालामा आइतबार क्यानाडाले दोस्रो मिनेटमै अग्रता लिए पनि क्रोएसियाले पुनरागमन गर्दै जित हासिल ग¥यो । क्रोएसियाको जितमा आन्द्रे क्रामारिचले दुई, लोभ्रो माएर र मार्को लिभाजाले एक–एक गोल गरे ।

क्यानाडाले खेलको दोस्रो मिनेटमै अल्फोन्सो डेभिसको गोलमा अग्रता लिएको थियो । ताहन बुकाननको क्रसमा डेभिसले हेडरमा गोल गर्दै क्यानडालाई अघि बढाए । यो क्यानाडाका लागि विश्वकप इतिहासमै पहिलो गोलसमेत थियो । क्रोएसियाले पहिलो हाफको अन्त्यतिर लगातार दुई गोल गर्दै अग्रता लियो । खेलको ३६औं मिनेटमा क्रामारिचले बराबरी गोल फर्काए । उनले इभान पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट कठिन कोणबाट गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा क्रोएसियाले अग्रता लियो । उनले जोसिप जुरानोभिचको पास सदुपयोग गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल गरे । पेरिसिचको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गरेर क्रामारिचले सुन्दर फिनिस गरे । इन्ज्युरी समयमा क्रोएसियाले चौथो गोल ग¥यो । क्यानाडाले आफ्नो हाफमा बल खुस्काएपछि मिस्लाभ अर्सिचले सहज पास दिँदै लोभ्रो माएरलाई खाली पोस्टमा गोल गर्न दिए ।
यस जितले क्रोएसिया गोलअन्तरको आधारमा अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । क्रोएसिया र मोरक्कोको चार–चार अंक छ । त्यस्तै, बेल्जियमको तीन अंक हुँदा क्यानाडा अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूहको अन्तिम चरण
आजको खेल
समूह ‘ए’
इक्वेडरविरुद्ध सेनेगल राति ८ः ४५ बजे
नेदरल्यान्डस्विरुद्ध कतार राति ८ः४५ बजे
समूह ‘बी’
इरानविरुद्ध अमेरिका राति १२ः४५ बजे
वेल्सविरुद्ध इंग्ल्यान्ड राति १२ः४५ बजे

प्रतिक्रिया दिनुहोस्