रामेछापमा क्रियापुत्रीद्वारा मतदान



रामेछाप ।

रामेछापमा दुई जना क्रियापुत्रीले मतदान गरेका छन् । मन्थली नगरपालिका–९ पुराना गाउँमा क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

९ दिन देखि बुबा नवराज पुरीको क्रियापुत्री बसेका नीलकण्ठ पुरी, प्रकाश पुरी र उनीहरूका श्रीमतीसहितले मतदान गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।सिङ्गो परिवार नै दुखमा परेको घडीमा पनि देश बनाउने स्पष्ट भिजन मिसन भएको नेतृत्व जिताउन मतदान गर्न आएको प्रकाश पुरीले बताउनुभयो । आगामी पाँच वर्षका लागि देशको भविष्य निर्धारण गर्न आफ्नो एक मतको पनि ठुलो महत्त्व हुने महसुस गरेर मत हाल्न आएको नीलकण्ठ पुरीले बताउनुभयो ।

उनीहरूलाई मतदान केन्द्रका सहज रूपमा भोट हाल्ने वातावरण बनाइएको थियो । रामेछापमा ९६ मतदानस्थलहरुमा २२६ मतदान केन्द्रमै उत्साहजनक रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । जिल्लाभर मध्यान्ह १२ बजेसम्म ३० हजार भन्दा बढी मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा यो निर्वाचनमा कुल एक लाख ८० हजार १०६ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्