झापाको मतदान केन्द्रमा बम बिष्फोट



झापा ।

झापाको एक  मतदान केन्द्रमा बम विष्फोट भएको छ । झापा गाउँपालिका वडा नं २ स्थित कुवाडी देवी मावि मतदान केन्द्रमा बिहान १० बजेर २० मिनेटमा सुतली बम विष्फोट भएको हो । मतदान गरिरहेको ठाउँबाट करिब ३० मिटर टाढा भएको बम विष्फोटबाट क्षति नभएपनि ठूलो आवाजका साथ बम पड्किएको मतदाताहरुले बताएका छन् ।

विष्फोटपछि आधा घण्टा मतदान रोकिएको थियो । केहीबेर अघिबाट मतदान सुचारु भएको छ । कुवाडी देवी मावि झापा गाउँपालिकाकै सबैभन्दा बढी मतदाता भएको मतदान केन्द्र हो ।

मोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको छ ।

आज विहान विवादपछि मत माग्ने कर्मचारी विनिता दाहाललाई मतदान केन्द्रबाट निष्कासित गरिएको छ । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ति कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेकी थिइन् । कर्मचारी दाहाल सुकुना क्याम्पसकी शिक्षिका रहेको खुल्न आएको छ ।

सो पछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएपछि वडा अध्यक्ष विजय लिम्बु र राजनैतिक दलका प्रतिनिधिको आग्रहमा ति कर्मचारीलाई मतदान केन्द्र बाहिर निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्