सम्पादकीय : मतदान पूर्वाधार



नजिकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले दुर्गम क्षेत्रहरुमा अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको बुझिएको छ ।

आयोगले दुर्गम क्षेत्रमा उपचार सामग्री पठाई मतदातालाई मतदानका लागि उत्साहित बनाउने भूमिका खेलेको छ । स्वास्थ्य सामग्रीको पहुँच असहज भएका जिल्लाका मतदान केन्द्रहरुमा सिटामोल, जीवनजल, झाडा–पखालाको औषधि, ब्यान्डेज र एलर्जी निवारणका सामग्रीहरू पठाएको छ । आयोगले अन्य क्षेत्रमा सार्वजनिक बिदा भएपनि स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि लगायतका आवश्यक कुराहरू चुस्त–दुरुस्त राख्न अनुरोध गरेको छ ।

निर्वाचनका समयमा खासगरी मतदानका दिन धेरै मानिस एक ठाउँमा भेला हुन्छन् । यस्तोमा सरुवा रोग तथा कोभिड– १९ लाई समेत ध्यानमा राखी आयोगले सबै मतदान केन्द्रहरुमा स्वास्थ्य सामग्री पठाउँदा मास्क र सेनिटाइजर पनि अनिवार्य रुपमा पठाएको देखिएको छ । आयोगले कोरोनाको संक्रमण पूर्णरुपमा बन्द नभइसकेको हुनाले निर्वाचनमा सहभागी सबैले भौतिक दुरी कायम गर्न, मास्क लगाउन, भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन सम्पन्न बनाउन समेत अनुरोध गरेको छ । आयोगले मतदान केन्द्रलाई समावेशी र अपांगमैत्री बनाउन समेत निर्देशन दिएको छ ।

मानव अधिकारको रक्षा र मानवीय संबेदनशीलतालाई समेत ध्यान दिने आयोगको अभ्यासलाई जनताले रुचाएका छन् । आयोगको नीति–निर्देशनको पालना गरी आम निर्वाचन सफल बनाउने दायित्व आम नागरिकको पनि हो । यस्ता राष्ट्रिय महत्वका विषयमा सबैले आ–आफ्नो क्षेत्रबाट निर्वाचनलाई, भव्य, सभ्य र मर्यादित बनाउँदै आम नागरिकको मानव अधिकारको समेत रक्षा गर्ने दायित्व बहन गर्नैपर्दछ ।

स्वास्थ्यका अतिरिक्त अन्य व्यावहारिक विषयमा पनि आयोगको ध्यान गएको देखिन्छ । मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिकलाई पनि सहज हुनेगरी राख्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था, मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुनेगरी निर्माण गराउने कार्यमा पनि आयोगको ध्यान गएको देखिन्छ ।

मतदानमा सबैको सहज पहुँच सुनिश्चित गर्ने दिशामा भएका कामको उच्च मूल्यांकन हुनैपर्छ । यसका साथै शारीरिक अशक्तता वा अन्य कुनै कारणले आफ्नो मत सङ्केत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा लैजाने अनुमति मागेमा मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मतसंकेत गर्न लगाउने व्यवस्था निर्देशिकामा छ ।

मतदाताको इच्छाविपरीत कसैले मतदान गर्ने कोशिस गरेमा कानूनी रुपमा कारवाहीको भागीदार बन्नुपर्ने सम्मको व्यवस्था छ । निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैङ्गिकमैत्री तथा समावेशी हुनेगरी प्रभावकारी बनाउने कार्यमा निर्वाचन आयोग लागिपरेको देखिन्छ । आम नागरिकले आपूmले चाहेजस्तो मतदान गर्न पाएनन् भने उनीहरुका सावभाम अधिकार नै कुण्ठित हुनेमा आयोग सजग देखिन्छ । यस मानसिकता र व्यवहारलाई सबैले स्वागत गर्नैपर्छ । मतदाता नागरिकको स्वास्थ्यका विषयमा निर्वाचन आयोगले देखाएको सदासयता समयसापेक्ष र सराहनीय छ भनेर स्वीकार गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्