मुलुक कस्तो बनाउने भन्ने सरकारको हातमा



काठमाडौं ।

चार दशक बित्दा पनि देशको विकास राम्ररी हुन सकेन। कारण एकातिर जनसंख्या वृद्धिको विकास, अर्कोतिर भ्रष्टाचारको विकास । यी दुई मिश्रणले गर्दा मानिसले सोचेको विपरीत भइराखेको छ।

मानिसले आफ्नो जीवन धान्न मुस्किल हुनु, व्यापार चौपट हुनु, बेरोजगार बढ्नु, महँगी बढ्नु शायद यिनै कारणले गर्दा देशमा लोकतन्त्र आएर पनि मानिसको यो हबिगत होला भनेर कसैले सोचेका थिएनन् । तर जुन कुरा सत्य हो त्यसलाई वर्णन गर्नु जरुरी पनि छ। अहिले मुलुकमा आर्थिक मन्दीका कारण लोकतन्त्र÷गणतन्त्र आएर पनि मानिसहरु उति खुशी छैनन् । कारण देशको अवस्था नै जता हेर्‍यो त्यस्तै नाजुक छ ।

एकातिर मानिस दिन–प्रतिदिन लालची र स्वार्थी भएका छन् भने अर्कोतिर देशमा भएको जलविद्युत्, पर्यटन, कृषिजस्ता ठूला–ठूला प्रोजेक्टहरुले पनि उति फड्को मार्न सकिराखेका छैनन्। यसबाहेक देशमा कैयौँ उत्पादनका स्रोत छन्, रकम छ, म्यानपावर छ तर मानिसको स्वार्थ र शुन्य खोपडीका कारण हामीले यी कुराबाट मनग्य आम्दानी गर्न सकिराखेका छैनौं । अथवा हाम्रो देशले पनि मनग्य आम्दानी गरेर स्वदेशमा नै रोजगारको सृजना गरी बेरोजगार समस्या समाधान गर्न सकेको छैन। नेपालीहरुको दुर्भाग्य भन्ने कि हाम्रो राम्रो दिन नआएको भन्ने ? भगवानले नै देश चलाउनेहरुको खोपडीलाई राम्रो नबनाएको हो? त्यो कुरा भने बुझ्न सकिएन । मुलुक हाँक्नेहरु र प्रतिपक्षहरुको कुर्सीको खिचातानीका कारण नेपालीहरुको राम्रा दिन र जिन्दगी खेर गइराखेको देखिन्छ।

एकातिरबाट हेर्दा मुलुकको विकास भइराखेको जस्तो पनि देखिन्छ, अर्कोतिर अहिले महँगी, बेरोजगार, अशान्त वातावरणले मुलुक झन् खस्किराखेको आभास हुन्छ। अहिले देशमा प्रायः मानिसको चाहना नै राजनीतिमा जाने र सजिलो तरिकाले पैसा कमाउने भइसकेको छ। यसको लागि जे पनि गर्ने मानिसहरुको मानसिकता भएको छ।

शायद यही कारणले राजनीतिक परिवारको आकार पनि सधैँ बढेको देखिन्छ। यो देशको लागि बोझ हो। यो बोझ विकासका लागि बाधक भएर उभिएको छ । सर्वप्रथम यस्तो स्वार्थी संस्कारको अन्त्य हुनु आजको आवश्यकता हो अनि मात्र सरकारहरुले राम्ररी काम गर्न सक्नेछन् । नत्र भने जनताको गाली खाने मात्र हो । देशको एउटा विडम्बना अल्छीपना पनि हो । एकातिर देशमा बाँझो जमिन अपार छ तर सरकारको राम्रो भिजन र उदार मनको कमीले गर्दा यसबाट हामीले फाइदा लिन सकिराखेका छैनौं । त्यसकारण अब यस्तो हुन भएन, कुर्सीमा बस्नेहरु राम्रो सोच लिएर बदलिनु जरुरी छ ।

देशमा हरेक दलले आफ्नो भविष्य मजबुत पार्नका लागि पर्याप्त कार्यकर्ताहरु पालेका हुन्छन् । एक हिसाबले देश विकासका लागि यो पनि एक घाँडो नै हो। देशमा खुट्टा तान्ने संस्कार हाबी छ। चाकडीको विकास भएको छ। आर्थिक नोक्सानका साथै कलहको विकास भइरहेको छ। यस्ता कुराहरु पनि धेरै कार्यकर्ता र चाकडी प्रथाले नै भइराखेको मान्न सकिन्छ ।

जुन सरकार आए पनि खालि आफ्नै मात्र फाइदा सोच्नु, मुलुक बनाउनको लागि राम्रो भिजन तर्जुमा गर्ने क्षमता नहुनु, एक–आपसमा कलह तथा मनमुटाव हुनु आदिले गर्दा नै मुलुक अगाडि नबढेको मान्न सकिन्छ। अहिले देश सुस्त हुनुको कारण रोजगारलाई उत्थान गर्न नसक्नु र आर्थिक मन्दी हुनु पनि हो।

यो सबैका लागि चिन्ता तथा कपाल दुखाइको विषय हुन आएको छ। मुलुक कस्तो बनाउने भन्ने त्यो देशको सरकारको हातमा हुन्छ। सही र भिजन भएको सरकार भयो भने मुलुक बन्न धेरै कुर्नुपर्दैन। नेपालको परिप्रेक्ष्यमा भन्दा खाली आफ्नो दुनो सोझ्याउने कार्यले मुलुक अगाडि बढ्न सकेन । त्यसैले अब देशको कायापलट गर्ने हो भने सबै पक्ष बदलिनु जरुरी छ।

अल्छीपन, नकारात्मक सोच, चाकडीबाज, अपशब्द बोल्ने, खुट्टा तान्ने, गलत किसिमले पैसा कमाउने आदि प्रवृत्ति अन्त्य गर्नका लागि जनचेतना जगाउनु जरुरी छ । यसबाहेक सरकारमा बस्ने हिरोहरु पनि एकोहोरो घमण्डी नभई बदलिनुपर्दछ । सरकारमा रहनेहरुले आफ्नो र आफ्नो दल, परिवारको चिन्ता गर्न छोडी उदार मन लिएर बदलिनुपर्छ। विदेशीको गुलामी नगर्ने, विदेशीसँग देशको आन्तरिक कुरा नखुलाउने, सांसद र मन्त्री भएपछि एकदम काम गर्ने, बजेट पनि खर्बबाट अर्बमा झार्ने प्रवृत्तिको विकास गर्नुपर्छ । किनकि अहिलेको समय धेरै विकासको परिकल्पना गर्नुभन्दा देशको जग बसाल्ने समय हो।

यसै गरी विदेशीको ऋणभार पनि बिस्तारै तिरेर देश र जनतालाई स्वाभिमानी बनाउनुपर्छ । विदेशी ऋणले गर्दा हामी सधैँ विदेशीको नोकरजस्तो भएर बस्न हुँदैन । अहिलेको घडीमा संघीयता पनि खारेज गर्ने हो । किनकि संघीयताले गर्दा देशमा आर्थिक बोझबाहेक खासै फाइदा देखाएको छैन। न त प्रदेशहरुको द्रुत विकास भयो। यदि संघीयता खारेज गर्न नसकेको खण्डमा यसको लागि खर्च कम गर्ने र कडाइ गर्ने कुरापट्टि लाग्नुपर्छ।

यति काम सरकारले मुलुकको लागि गर्न सक्यो भने मुलुकको कायापलट हुनेछ। त्यसका लागि सरकारले उदार मन लिएर देशमा भएका उत्पादन एवं अन्य आयस्रोतलाई बढाउनको लागि लगानीकर्ताहरुलाई आकर्षित गर्नुपर्‍यो। उनीहरुलाई कर खुकुलो गर्ने र सुरक्षा दिई हौसला एवं प्रोत्साहन दिनुपर्‍यो । हेरौँ, अब मुलुक बनाउनका लागि सरकारको सोच कत्तिको बदलिने हो ? कताकति केही लक्षण देखिन लागेको पनि छ।

सरकारमा रहनेहरुले स्वार्थीपन त्यागेर मुलुककै लागि कस्सिनुपर्‍यो। सरकारबाहिर रहनेहरुले पनि खुट्टा तान्ने प्रवृत्ति त्याग्नुपर्‍यो। सर्वसाधारण जनताले सही व्यक्तिको छनोट गरेर प्रतिनिधिको रुपमा पठाउनुपर्‍यो। अहिलेको अवस्था हेर्दा केही आशाका किरण पलाएका छन्। त्यसैले आशा गरौँ, केही वर्षमा नै मुलक कायापलट हुनेछ।

प्रतिक्रिया दिनुहोस्