मृगौलारोगीको आशाको केन्द्र



काठमाडौं ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मृगौला रोग लागेका नागरिकहरुको आशाको केन्द्र हो । सरकारले यसलाई राजनीतिक नजरले हेर्नुभन्दा पनि नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्ने उत्कृष्ट उपचार थलोका रुपमा विकास गरोस् ।

यस अस्पतालले १२ औं वार्षिक उत्सव मनाइरहँदा लामो समयदेखि उपचारको पालो कुर्नुपरेका बिरामीहरुले सहज उपचारको माग गर्दै सांकेतिकरुपमा सरकारको विरोध गर्न बाध्य भए। नेमकिपाका सांसद प्रेम सुवालले सार्वजनिक कार्यक्रममै यो विरोध प्रधानमन्त्रीलाई लक्षित हो भन्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि प्रधानमन्त्री हुँदा यस केन्द्रलाई जग्गा उपलब्ध गराउँछु भन्नुभयो।

अहिले पनि छिटोभन्दा छिटो जग्गाको काम टुंगो लगाउन कानुन मन्त्रालयलगायतका सरोकारवाला निकायलाई निर्देशन दिनुभएको ६ महिना बित्न लाग्यो। तत्काल राजनीतिक फाइदा हुने विषयमा रातारात सबै दल र नेताहरु एकजुट भई कानुन बन्छ तर नागरिकको स्वास्थ्य सेवाका विषयमा पटक–पटक आश्वासन मात्र किन ?

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मृगौला प्रत्यारोपणका लागि नेपाल सरकारको केन्द्रीय अस्पताल हो। यो अस्पताललाई जग्गासहित ५ सय बेडको अस्पताल बनाउन सके हाल नेपालबाट मृगौला प्रत्यारोपणकै लागि विदेशिने अर्बौं रुपियाँ जोगिन्छ। साथै नेपाली नागरिकले उपचारका लागि ऋण लिएर वा जग्गा बेचेर सुकुम्बासी बन्नुपर्दैन।

अहिले डायलासिसकै लागि पालो कुर्दाकुर्दै आर्थिक अवस्था कमजोर भएका नेपालीले अकालमा ज्यान गुमाउनुपरेको छ । सोही अस्पतालमा आकस्मिकरुपमा जाँदा पालो नपाएका भक्तपुरकै एक बिरामीले एक साताअघि अकालमा ज्यान गुमाउनुपर्‍यो। यस्ता पीडादायी घटना हरेक दिन भइरहेका छन् तर सरकारले नागरिकको स्वास्थ्यप्रति कहिले चासो दिने ?

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भक्तपुर अस्पतालको जग्गा विगत १२ वर्षदेखि भाडामा लिएर साँघुरो ठाउँमा सेवा दिँदै आएको छ । राज्यले राष्ट्रिय अस्पताल भनेको छ । तर राष्ट्रिय अस्पतालका लागि आवश्यक के–के हुनुपर्छ भन्ने विषयमा चासो नै दिएको छैन। यस्तो अवस्थामा पनि यो अस्पतालले १२ वर्षमा १ हजार २ सय ३९ जनाको मृगौला प्रत्यारोपण गर्न सफल भएको छ।

अस्पतालको आफ्नै जग्गामा भवनसहितको सुविधा हुने हो भने वर्षमा ५ सयजना बिरामीको मृगौला प्रत्यारोपण गर्ने र सातै प्रदेशका अस्पतालमा सेवा दिने योजना यसले अघि सारेको छ । सरकारले तत्काल कानुनी प्रक्रिया पूरा गरी अस्पताललाई वास्तवमै प्रत्यारोपण केन्द्रजस्तो बनाओस् । यो केन्द्रले पोखरा र सुर्खेतमा समेत मृगौला प्रत्यारोपणको थालनी गरिसकेको छ । यसलाई निरन्तरता दिँदै सातै प्रदेशमा मृगौला प्रत्यारोपण गर्ने वातावरण बनाई नागरिकलाई सर्वसुलभरुपमा सेवाप्रवाह गराउनेतर्फ सरकारको ध्यान पुगोस् ।

यति मात्र होइन, बे्रन डेथ भएका व्यक्तिको अंगदानसम्बन्धी जनचेतना जगाउने र मृगौला प्रत्यारोपण गर्न सफल सबै अस्पताललाई एकै छातामा समावेश गरी पालैपालो बे्रन डेथबाट प्राप्त अंग उपलब्ध गराइयोस्। कुनै पनि बिरामीले अंगदान नपाएर या समयमा उपचार नपाएर अकाल मृत्युवरण गर्नु नपरोस्।

पहुँचवालालाई विदेशबाट समेत जनशक्ति झिकाएर निःशुल्क उपचार गराउने तर आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले वर्षौं डायालासिस गरेर पनि मृगौला प्रत्यारोपण गर्न नपाई ज्यान गुमाउनुपर्ने अवस्था नआओस्। सरकारले स्वास्थ्य सेवाका क्षेत्रमा नेपाललाई मेडिकल पर्यटन हब बनाई युवा चिकित्सक, स्वास्थ्यकर्मीहरुको योग्यता, दक्षताको कदर गर्दै देशमै अवसर सृजना गरोस् ।

प्रतिक्रिया दिनुहोस्