विकास निर्माण नै बानियाँको पहिलो प्रार्थमिकतामा



नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’ बाट चुनावी मैदानमा उत्रिनुभएको छ । गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र वागमती प्रदेश संसदीय दलका नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका उहाँ दोस्रोपटक उक्त क्षेत्रमा उम्मेदवार बन्नुभएको हो । बानियाँसँग निर्वाचनको सेरोफेरोमा रहेर नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका हेटौंडा संवाददाता रोशन पराजुलीले गरेको कुराकानीको सम्पादित अंश:

दोस्रोपटक एकै क्षेत्रबाट चुनावी मैदानमा हुनुहुन्छ । मतदाताको उत्साह कस्तो पाउनुभएको छ ?

म २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुँ । यस अवधिमा मैले मतदाताहरुले दिएका जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको छु । हाल दोस्रोपटक यसै क्षेत्रमा उम्मेदवारका रूपमा मतदाताको घरदैलोमा पुग्दा मैले उहाँहरुमा उत्साह नै पाएको छु । निरन्तर उहाँहरुको सुख–दुःखमा जोडिएकाले मलाई उम्मेदवारका रूपमा पुनः पाउँदा उहाँहरुमा एक प्रकारको उत्साह छ । निर्वाचनलाई लिएर पनि उहाँहरुमा सकारात्मक प्रतिक्रिया पाएको छु ।

अरू नेताबारे मलाई थाहा छैन । तर, म मेरो निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधानका लागि सँगसँगै सहयात्रा गरिरहेको छु । मेरो भूगोलसँग सधैं जोडिएको छु । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना महामारीमा निर्वाचन क्षेत्र र वागमती प्रदेशका जनतामाझ खाद्यान्न लिएर पुगेको छु । जाडोमा विपन्न चेपाङ, तामाङ समुदाय र विद्यार्थीलाई न्यानो कपडा लिएर पुगेको छु । जनताको विकासमा म सधैं जोडिएको छु ।
त्यसैले मेरा मतदाता एवं शुभचिन्तक शुभेच्छुकले मलाई सधैं आफूसँगै पाएकाले नै मैले उम्मेदवारी दिएदेखि यस क्षेत्रका जनता हाम्रो विश्वास र भरोसाको मान्छे हाम्रा उम्मेदवारका रूपमा पाएका छौं भनेर उत्साहित पाएको छु ।

दोस्रोपटक पनि मतदाताले तपाईंलाई मतदान गर्नुपर्ने कारण के छ ?

म समाजसेवाको उद्देश्यले राजनीतिमा आएको हुँ । जीवनयापनका लागि मेरो पेसा व्यवसाय छ । राजनीतिलाई पेसा बनाउने कुराको विरोधी हुँ । म सधैं जनताको व्यक्तिगत सुख–दुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु । राज्यस्तरबाट हुन नसकेका कतिपय काम मैले आफ्नो व्यक्तिगत सहयोगबाटै पूरा गरिरहेको छु । यसबारे मेरो निर्वाचन क्षेत्रमात्र नभई प्रदेशका जनतालाई नै अवगत छ ।
विकास र जनताको जीवनस्तर सुधारका लागि वागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु । जनताका व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकाले पनि मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ । पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु ।

तपाईंलाई वागमती प्रदेशको आगामी मुख्यमन्त्रीका रूपमा पनि मतदाताले हेरेका रहेछन् । यसमा तपाईंको भनाइ के छ ?
मतदाताले मलाई उहाँहरुको मुख्यमन्त्रीको भूमिकामा काम गरेको देख्न चाहनुलाई सकारात्मक रूपमा लिएको छु । म पदभन्दा पनि कर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जनतालाई सर्वोपरी मानेर काम गर्दै जाने हो, पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु । २०७० सालमा मकवानपुर क्षेत्र नम्बर १ का मतदाताले निर्वाचित गरेर जिम्मेवारी दिएदेखि नै त्यसअघि झैं निरन्तर कर्ममा अघि बढेको छु ।

यस अवधिमा मैले संविधानसभा सदस्य, गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र वागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेको छु । वागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीलाई संसदीय मर्यादाभित्र रहेर सशक्तढंगले पूरा गरेको छु ।पछिल्लोपटक गठबन्धन दलको प्रदेश सरकार निर्माण भएपछि सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलका नेताका रूपमा सरकारमार्फत जनताको विकासको भोक मेट्न काम गरेको छु । व्यक्तिगत रूपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको जस्ता कारण पनि मतदातामा मप्रति विश्वास र भरोसा छ । म पार्टीको इमानदार कार्यकर्ता भएका कारण पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध हुनेछु । मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाइमा पु¥याउन काम गर्नेछु ।

गठबन्धन गरेर नेपाली कांग्रेस चुनावी मैदानमा छ । आगामी निर्वाचनबाट प्रदेशमा कांग्रेसको अवस्था कस्तो हुने अपेक्षा गर्नुभएको छ ?

गठबन्धन संविधानरक्षा र व्यवस्थाको सुदृढीकरणका लागि भएको विषय सबैलाई जानकारी नै छ । म गठबन्धनको साझेदार दल नेपाली कांग्रेस वागमती प्रदेशको सभापति भएकाले मैले नेपाली कांग्रेसका साथसाथै गठबन्धनमा रहेका दलका उम्मेदवारहरुको विजयलाई सुनिश्चित गर्ने अभिभारा बोकेको छु । यसअनुसार प्रदेश कार्यसमितिले वागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा व्यवस्थितढंगले निर्वाचन अभियानलाई अघि बढाउने काम गरेको छ ।म विश्वस्त छु, हाम्रो गठबन्धनले हामीले राखेको लक्ष्य पूरा गर्दै छ । निर्वाचनपछि वागमती प्रदेश हाम्रो गठबन्धनमय हुनेछ । गठबन्धनको सफलतामा नेपाली कांग्रेसको पनि सफलता जोडिएको छ । नेपाली कांग्रेसप्रति मतदाताको विश्वास अत्यधिक रहेकाले वागमती प्रदेशमा कांग्रेसले उत्साहजनक सफलता हासिल गर्नेछ । मतदातामा नेपाली कांग्रेसको पूर्णविश्वास छ ।

-व्यक्तिगत रूपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको जस्ता कारण पनि मतदातामा मप्रति विश्वास र भरोसा छ । म पार्टीको इमानदार कार्यकर्ता भएका कारण पार्टीले दिएको जिम्मेवारीलाई पनि कुशलतापूर्वक सम्पन्न गरेको छु । मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाइमा पु-याउने गरी काम गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्