नेपाल सम्वत् र राष्ट्रवाद



नेपाली राजनीतिमा राष्ट्रियता सधैँ एउटा प्रमुख मुद्दाको रूपमा उठ्ने गरिरहेको पाइन्छ । खासगरी भारततिरबाट कुनै सानो मात्रै कदम चादिदा पनि त्यसले नेपालको राष्ट्रियतामाथि खतरा उत्पन्न गरेको छ कि भनी विश्लेषण गर्ने चलन नेपाली राजनीतिमा देखिन्छ ।

नेपालको भूमि अतिक्रमण, राजनीतिक हस्तक्षेप, नागरिकता, सांस्कृतिक, भाषिक अतिक्रमण, हिन्दी भाषाको प्रभाव आदि विषयलाई राष्ट्रियताको मुद्दासँग जोडेर हेर्ने चलन रहिआएको छ । राष्ट्रियताको मुद्दामा नेपाली राजनीतिको यो संवेदनशीलता स्तुत्य मान्न सकिन्छ ।

समस्या यति मात्रै हो कि हाम्रा राजनीतिक दलहरू विपक्षीमा हुँदासम्म यी सबै विषयमा राष्ट्रियता देख्छन्, सत्तामा पुगेपछि राष्ट्रियता हराउँछन् । वास्तवमा राजनीतिक दलहरूको यही कमजोरीको कारणले होला, नेपालको राष्ट्रियता अझै पनि मजबुत भइसक्यो भनेर विश्वस्त हुनसक्ने वातावरण बनिसकेको छैन ।

यसलाई विडम्बनाकै विषय भन्नुपर्ला, यति धेरै विषयमा आवाज उठाई आफूलाई खाँटी राष्ट्रवादी दाबी गर्ने नेताहरू पनि नेपाल सम्वत्लाई भने राष्ट्रियताको मुद्दा मान्न तयार छैनन् । वा, यो पनि राष्ट्रियताको विषय हो भनी बुझ्न सकिरहेका छैनन् । नेपाल सम्वत्को विषय उठेपछि उनीहरू या त यसको सांस्कृतिक पक्षतिर बखान गर्न थाल्छन्, या त नेवाः जातिको गुण गाउन थाल्छन् । राष्ट्रियताका विभिन्न तत्वहरूमध्ये नेपाल सम्वत् पनि एक हो भन्ने कुरालाई उनीहरू अझै स्वीकार गर्न तयार छैनन् ।
नेपाल सम्वत्, जो नामैले नेपाली हो ।

संसारमा यही मात्र एउटा यस्तो सम्वत् हो जो आफ्नो देशको नामबाट स्थापित भएको छ । यो सम्वत्ले कतिसम्मको राष्ट्रिय भाव बोकेको छ भन्ने कुरा यसको नामैले पनि प्रस्ट गर्छ । अहिले देशमा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली उद्योगलाई टेवा दिऔँ, नेपाली खाऔँ, नेपाली हुनुमा गर्व गरौँ, नेपाली पोशाक लगाऔँ आदिआदि भनी ‘नेपालीपन’मा जोड दिने अभियानजस्तै लहर चलिरहेको छ । तर नेपाली हुनुमा गर्व गर्ने यो जमात पनि सम्वत्का सवालमा भने नेपाल सम्वत्लाई सम्झन चाहँदैन । आफूलाई खाँटी नेपाली साबित गर्न धेरै कुराहरू नेपाली प्रयोग गर्नुपर्छ भने सम्वत् चाहिं किन नेपाली प्रयोग गर्नु हुँदैन ?

 

नेपाल सम्वत् उत्पत्तिको कथा नेपालसँगै जोडिएको छ । शंखधर साख्वाःलाई नेपाल सम्वत्का प्रवर्तक मानिन्छ । उहाँले कसरी नेपाल सम्वत् चलाउनुभयो भन्ने विषयमा प्रचलित किंवदन्ती पूरै नेपालीपनले ओतप्रोत छ । हामीकहाँ प्रचलित धेरै किंवदन्ती वा लोककथाहरु यस्ता छन् जो विश्वका अरु पनि मुलुकका प्रचलित लोककथाहरुसँग कहीं न कहीं मेल खान्छन् । तर शंखधर साख्वाःको किंवदन्ती अत्यन्त मौलिक छ । त्यो वास्तवमा कथा मात्र होइन, ऐतिहासिक घटना नै हो भनी प्रमाणित गर्न सकिने धेरै सामग्रीहरु अहिले पनि प्राप्त छन् । यसरी नेपाली माटोमा एक नेपालीकै पहलमा नेपालले नै उत्पादन गरेको सम्वत्लाई प्रयोग गर्न हिचकिचाउनुपर्ने कुनै कारण छैन ।

नेपाल सम्वत्को प्रसंग चल्दा केहीको पूर्वाग्रह यस्तो पनि रहने गर्दछ कि यो त नेवार समुदायको सम्वत् हो । नेवारको सम्वत् कसरी देशका सबै जनताको राष्ट्रिय सम्वत् बन्नसक्छ ? यसमा स्पष्ट पार्नुपर्ने विषय के हो भने सबैभन्दा पहिलो कुरा त नेपाल सम्वत् नेवारको मात्र सम्वत् होइन । यो नेपालका सबै जनताले आ–आफ्नो सांस्कृतिक कर्ममा प्रयोग गरि नै रहेका छन् । तिथिको प्रचलन नेपालमा नेपाल सम्वत् जन्मिनुभन्दा अघिदेखि नै अभ्यासमा थियो । तर त्यसमा वर्षको गणना गर्ने (साल उल्लेख गर्ने) चलन थिएन ।

नेपाल सम्वत् आउनुअघि नेपालमा अरु सम्वत्हरु पनि प्रचलित थिए । तर त्यसमा दिनको गणना गर्ने (तिथि मिति उल्लेख गर्ने) चलन थिएन । नेपाल सम्वत्मा साल र दिन दुवै उल्लेख गर्ने व्यवस्था गरियो । त्यसपछि यो व्यावहारिक भयो र जनतामाझ लोकप्रिय भयो । नेपालमा अहिलेसम्म प्रचलित सबै सम्वत्हरु मध्ये धेरै समयसम्म व्यवहारमा चलेको सम्वत् नेपाल सम्वत् नै हो । अहिले पनि नेपालमा सरकारले दिने सार्वजनिक बिदाहरुमध्ये ८० प्रतिशत बिदा तिथिकै आधारमा दिनेगरिन्छ जो नेपाल सम्वत्को पनि आधार हो । दशैं, तिहार, गाईजात्रा, इन्द्रजात्रा, रामनवमी, कृष्णाष्टमी आदि सबै पर्वका बिदा नेपाल सम्वत्कै आधारमा दिंदै आएको पाइन्छ ।

अर्को कुरा, यदि यो नेवार समुदायकै सम्वत् हो भने पनि के यसलाई नेपालको राष्ट्रिय सम्वत्को रुपमा प्रयोगमा ल्याउन मिल्दैन ? भारतको विक्रमादित्य र पश्चिमको प्रभू यशु भन्दा त नेपालको नेवार जाति धेरै नै हाम्रो हो, नेपाली हो । यसलाई अस्वीकार गर्नुपर्ने कुनै कारण छैन । जसले नेवाः लगायत देशका विभिन्न जातीय समुदायका अभ्यास एवं प्रचलनहरुलाई राष्ट्रिय सम्पदा हुन् भनी स्वीकार गर्नसक्दैन त्यसले आफूलाई राष्ट्रवादी वा देशभक्त भनेर दाबी गर्नुको पनि कुनै अर्थ छैन । देशभित्रका भाषाभाषी, जाति, सम्पदा, कला, संस्कृतिलाई वेवास्ता गरी केवल भूगोललाई मात्रै राष्ट्र ठान्नेहरु राष्ट्रवादी हुन सक्दैनन् । त्यसैले जसले आफूलाई राष्ट्रवादी दाबी गर्छ वा राष्ट्रको मौलिक पहिचानको पक्षपोषण गर्छ उसले नेपाल सम्वत्लाई नजरअन्दाज गर्न मिल्दैन ।

विश्वसामु नेपालको मौलिक पहिचानलाई दुरुस्त उतार्ने सबैभन्दा सजिलो र सशक्त साधन नेपाल सम्वत् पनि हो भन्ने कुरामा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्