मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्न प्रहरी महानिरीक्षक अर्यालको आग्रह



काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीमा सुरक्षा निकायको सवारी साधन प्रयोग गर्न नहुने बताउनुभएको छ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका बारेमा सोमबार गृह मन्त्रालयले आयोजना गरेको ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा बोल्दै उहाँले मतदान पछि चुनाव हार्ने पक्षले सुरक्षा निकायको सवारी साधन प्रयोग गरेर धाँधली गरेको भन्ने आरोप लगाउने भएकाले मतपेटिका ढुवानीमा सुरक्षा निकायको प्रयोग नगर्न आग्रह गर्नुभएको थियो ।

उहाँले मङ्सिर ४ गते हुने निर्वाचनमा संयमित भएर सुरक्षा निकाय परिचालन गर्न आग्रह गर्दै कुनै समूहको दबाबमा नपरी सुरक्षा निकाय परिचालन गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल प्रहरीका एआईजी दिवेश लोहनीले आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा सुरक्षा निकाय परिचालन गर्दा विवादरहित ढंगले गर्न पनि प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले यसपटकको निर्वाचन संवेदनशील भएकाले त्यसलाई प्रमुख जिल्ला अधिकारीहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्