देउवा र म मिलिसक्यौं : शेखर कोइराला



काठमाडौं । 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको बताउनुभएको छ । मोरङको हरैंचामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेतृत्व तहमा मिलिसकेको भन्दै कार्यकर्तालाई हिजोको तुष बिर्सेर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको हो ।

‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरू सबैले त्याग्नुस्,’ कार्यकर्तासँग आग्रह गर्दै कोइरालाले भन्नुभयो– ‘तुष मैले त त्यागिसकेँ । तपाईंहरूले किन नत्याग्ने ?’१४औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उहाँले बताउनुभयो । ‘जब शेरबहादुर देउवाजी र म नै मिलिसकेपछि वडामा तपाईंहरू किन झगडा गर्नुहुन्छ ?’, कार्यकर्तालाई उहाँले प्रश्न गर्नुभयो– ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’ प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको कोइरालाको भनाइ छ ।

‘अहिले शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटक–पटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु’, कोइरालाले थप्नुभयो– ‘मेरा कुरा सुनिरहनुभएको छ । मेरो कुरा मानिरहनुभएको छ । तर, तपाईंहरू तल किन लडिरहनुभएको छ । मैले बुझिरहेको छैन । केका लागि लडिरहनुभएको छ ?’दुई पक्षका कार्यकर्ता एकापसमा भिडेर केही पनि प्राप्त नहुने उहाँको सुझाव छ । यो बेला आपसमा लड्ने समय नभएकाले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन खुलेर लाग्न उहाँले कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्