आगामी चुनावपछि कसको अवस्था के होला ?



प्रतिनिधिसभाको पाँच बर्से कार्यकाल समाप्त भइसकेको छ । कतिपय सांसदका लागि संसद् छिर्ने यो अन्तिमपटक हो । नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, पम्फा भुसालको पनि रोस्टममा बोल्ने मौका सिद्धिएको अनुमान लगाउन थालिएको छ । पार्टीले टिकट दिए पनि जनताको मत पाउन यी नेताका लागि अत्यन्तै कठिनाइ छ ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनका लागि पनि संसद्को ढोका थुनिएको अड्कलबाजी गरिएको छ । पाँच वर्षमा लिङदेन १५ चोटि पनि संसद्मा उपस्थित भएनन् । तलबभत्ता खाने, सेवासुविधा लिने अनि एनजीओको झोले बनेर हिँड्नेलाई संसद्बाट सधैंका लागि बिदा गरिनेछ । यता, मधेसी दलका नेता राजेन्द्र महतोको पनि उही हाल छ ।

आउने चुनावमा उपेन्द्र यादवले राम्रो हार व्यहोर्ने निश्चित छ । उनको पनि संसद्मा उभिने दिन सकियो । नेपाल समाजवादी पार्टीका नेताहरु सबै प्रचण्डको पछिपछि हिँडिरहेका छन् । झलनाथ खनाल, माधवकुमार नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठले त राजनीतिबाट संन्यास लिए हुन्छ । यता, नेपाली कांग्रेसका गगन थापा, मीनबहादुर विश्वकर्मा र विश्वप्रकाश शर्माले पनि चुनाव हार्ने सम्भावना धेरै छ ।

काठमाडौं क्षेत्र १ बाट प्रकाशमान श्रेष्ठले हात धुनुपर्ने देखिन्छ । नेकपा एमालेबाट केपी शर्मा ओली, महेश बस्नेत, शंकर पोखरेल, योगेश भट्टराई र गोकुल बाँस्कोटाको पनि संसद्मा छिर्ने दिनको अन्त्य भएको बुझ्न सकिन्छ । बाबुराम भट्टराईले पनि गोरखाका जनताको विश्वास गुमाइसकेका छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठले त सदनमा छिर्ने कल्पना त्यागिदिए हुन्छ ।
पाँच वर्षको अवधिमा यिनीहरुले के गरे, जनताले राम्रोसँग देखेका छन् । जसको मूल्यांकन आगामी चुनावमा जनताले गर्नेछन् । कुनै नेता जनताको कुरा उठाउँदै रोए, कुनैले सदनमा उभिएर हानाथाप मात्र गरे । माओवादीका नेता गजेन्द्र महत आफ्नो क्षेत्रको कुरै उठाउँदै सदनमै धुरुधुरु रोएका थिए । जुम्लाबाट चुनाव जितेर आएका उनले सरकारले आफ्नो क्षेत्रमा बजेट नहाले र विकास नभएको गुनासो गरेका हुन् ।

केपी ओली प्रधानमन्त्री र युवराज खतिवडा अर्थमन्त्री हुँदाको कुरा हो यो । आफ्नो क्षेत्रमा बजेट नदिएपछि विकास कसरी गर्ने ? र, जनताको सामु कसरी मुख देखाउने ? भन्दै उनको आँखाबाट बलिन्द्र आँसु झरेका थिए । संसद्मा उभिएर नेता रोएपछि ७७ जिल्लाका जनताको ध्यान खिच्यो । अरु क्षेत्रको जनताले त उनको वाहवाही गरे नै, जुम्लाका जनताले समेत गर्व गरे ।
सदनमा उभिएर यो कुरा भन्न सक्नु निकै ठूलो कुरा हो । नेता होस् त यस्तो भन्दै सबैले उनको तारिफ गरेका थिए । प्रचण्डले एउटै व्यक्तिलाई चारचोटिसम्म मन्त्री बनाए । एउटै व्यक्ति दोहो-याएर आइरहे । जनार्दन शर्मा चारचोटि र पम्फा भुसाल तीनचोटि मन्त्री बने । तर, गजेन्द्र महतजस्तो व्यक्तिलाई ठाँउ दिइएन् । गजेन्द्र महतले भन्दै आएको एउटै कुराः जनताले भोट दिए पनि पार्टीले टिकट दिँदैन ।

पार्टीलाई पैसा दिन सक्नेले त टिकट पाउने हुन् । उनीसँग त पैसा छैन होला । पार्टीले टिकट दियो भने उनको जीत निश्चित छ । हरेक पार्टी पैसामा बिकेको छ । जनताले नरुचाए पनि पैसा हुनेले मात्र टिकट पाउँछन् । जनताले मन पराउने र जनताको हितमा बोल्ने व्यक्तिले टिकट नै पाउँदैनन् । टिकट नभएपछि जनताको बीचमा जाने ठाउँ नै रहेन । शीर्ष दलका नेता केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलगायत अन्य सबैजना पैसामा बिकेका छन् ।

टिकट बेचेकै पैसाबाट यिनीहरु चुनावमा जान्छन् । गगन थापाले यसअघि स्वास्थ्यमन्त्री हुँदा अर्बौंको सम्पत्ति जोडेको कुरा लुकाएर लुक्दैन । जनताको बिमा गराउने भन्दै अर्बौं रुपियाँ भ्रष्टाचार गरेका छन् । तर, उनले त्यसबाहेक अरु केही काम गरेनन् । इँटाभट्टाले प्रदूषण ग-यो भन्दै उपत्यकाबाहिर सार्ने निर्णय गरिएको थियो । यता, मदिराको लाइसेन्ससमेत लामो समयदेखि बन्द थियो । महेश बस्नेतले उद्योगमन्त्री हुदाँ इँटाभट्टा नसारेर र मदिराको लाइसेन्स खुलाएर अर्बौं रुपियाँ चलखेल गरेका छन् ।

गोकुल बाँस्कोटा त खुलेआम ७० करोडको भ्रष्टाचार आरोपमा मुछिएका व्यक्ति हुन् । सूचना तथा सञ्चारमन्त्री हुँदा सामान खरिद प्रकरणमा ७० करोड घूस मागेको अडियो बाहिर आएको थियो । ७७ वटा जिल्लाका जनताले तिरेको करमा केपी ओलीले रजगज गरे । आफू प्रधानमन्त्री भएको मौका छोपेर उनले सबै बजेट झापामा लगेर भ्युटावरमा खन्याए । पार्टीमा २० वर्ष लागेर जनताको काम गरेका व्यक्ति कहिल्यै सांसद बन्न पाएनन् । बरु, हिजोसम्म राप्रपाको झोले बनेर हिँडेकी कोमल वलीलाई मनोनीत सांसद् बनाइदिए ।

एउटा कर्मचारी स्तरबाट आएका युवराज खतिवडालाई अर्थमन्त्री बनाइयो । जनताबाट चुनिएर आएकालाई मन्त्री बनाइएन । आफ्ना पार्टीका सांसदलाई बालुवाटारमा बोलाएर अरुलाई कालो अरिँगालझैँ टोक्नु भन्ने पनि ओली नै हुन् । प्रधानमन्त्रीजस्तो पदमा बसेर यस्तो बोल्न नैतिकताले दिन्छ ? प्रधानमन्त्री भएर दिनभरि बाँसुरी बजाएर बस्ने । आफ्नो जन्मदिनमा देशको नक्सा भएको केक काट्ने पनि ओली नै हुन् ।

ओलीको सरकार आउनुअघि देउवाको सरकारले मेरुदण्ड भाँच्चिएका, मुटुरोग लागेका र अन्य दीर्घरोगीलाई मासिक पाँच हजार दिने निर्णय गरेका थिए । साथै, ६८ वर्षमा भत्ता दिने भनिएको थियो । कांग्रेस हिरो हुन्छ भनेर केपी ओलीले सबै निर्णय उल्टाइदिए । २०७४ सालको चुनावमा भोट माग्ने बेलामा ओलीले वृद्धभत्ता बढाइदिन्छु भनेका थिए । तर, उनी लामो समय प्रधानमन्त्री हुँदा पनि बूढाबूढी र अपांगको भत्ता बढाइएन ।

केही दिनअघि एउटा कार्यक्रममा उनले आफूसँग उपचार गर्ने पैसा नभएको दाबी गरेका थिए । तर, उनले आफ्नो र आफन्तको नाममा २२ अर्ब रकम राखेको चर्चा चलेको छ । २०७४ सालको चुनावमा एमाले पहिलो पार्टी बनेको थियो । जनताले उनलाई पाँच वर्षका देश चलाउन जिम्मेवार दिएका थिए । तर, उनले दुईपटक संसद् विघटन गरेको आजसम्म जनताले बिर्सिएका छैनन् । फेरि पनि ओलीकै नेतृत्वमा चुनावमा जाने र जनताले मत दिए भने ओलीलाई नै प्रधानमन्त्री बनाउने एमालेमा सहमति जुटेको छ ।

जनताले के आधारमा भोट दिने ? फेरि पनि उनलाई प्रधानमन्त्री बनाउनका लागि जनता त्यति मूर्ख छन् र ? नौ महिनासम्म संसद् अवरोध ग-यो । ओलीकै निर्देशनमा महेश बस्नेतले सांसद अपहरण गरे । संविधान बचाउनुपर्छ भन्दै सडकमा कार्यकर्ता उतारेर नौटंकी देखाउन ओली अघि बढेका छन् । आफू कुन पृष्ठभूमिबाट आएको हो, ओली र बस्नेतको शब्दबाटै स्पष्ट हुन्छ ।
अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको काम देखेर सबैजना दंग छन् ।

काठमाडौंवासीलाई गर्व लागेको छ । बालेनको जति काम गर्ने हैसियत राजनीतिक दलमध्ये कसैको पनि देखिएन । काठमाडौंका जनताले अर्को चुनावमा बालेनलाई योभन्दा धेरै मत दिएर जिताउने छन् । काम नगर्ने उखानटुक्का मात्र भन्ने र जनता झुक्याउनेलाई जनताले सदाका लागि बिदा गर्नेछन् । प्रचण्ड कहिले यता लहसिने र कहिले उता टाँसिने गरिरहेका छन् । उनको दोहोरो राजनीतिको पनि अन्त्य हुँदै छ । उनलाई पनि चुनाव जित्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्