ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने



काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता हुने भएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको प्रवद्र्धन गर्नका लागि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रश्रय राजभण्डारीले खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन विकासका लागि आगामी असोज ९ देखि ११ गतेसम्म लैनचौर फुटबल मैदानमा उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।

प्रतियोगितामा ठमेल क्षेत्रका दुई टिमसहित काठमाडौँ, पोखरा, धरान, चितवनलगायत देशभर मुख्य सहरका २० टिमको सहभागिता रहने संयोजक राजभण्डारीले बताउनुभयो ।

चालीस वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने उक्त खेलमा टिम दर्ताका लागि रु १० हजार तोकिएको छ भने टिम दर्ता अवधि असोज २ गतेसम्मलाई दिइएको छ । संयोजक राजभण्डारीका अनुसार खेल सेमिफाइनलसम्म ४० मिनेटको र फाइनल खेल ६० मिनेटको हुनेछ ।

खेलमा प्रथम हुने टिमलाई रु दुई लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद रु एक लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

एनसेलको सहयोगमा काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि ठाउँ निःशुल्क उपलब्ध गराउने क्लबका अध्यक्ष एवं सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रम्बा रजकले जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिए पनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गर्ने उहाँको भनाइ थियो ।

ठमेल परिषद्ले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगिता सम्पन्न गर्न रु १२ लाखदेखि १५ लाखसम्म लाग्ने अनुमान गरिएको परिषद्का महासचिव राजीव पाण्डेले बताउनुभयो । उक्त प्रतियोगिता अवलोकन गर्न आउने दर्शकसँग भने आयोजकले कुनै रकम नलिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्