कांग्रेसका कमान्डर स्वतन्त्रको प्रशिक्षणमा



हेटौंडा । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ बाट उम्मेदवारी सिफारिस भएका भरत पराजुली पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको छ ।

३३ वर्ष कांग्रेसको राजनीति गरेका पराजुली पार्टीमा धनबहादुर र डनबहादुर हाबी भएको भन्दै गत साता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस हुनुभएको थियो । काठमाडौंमा भएको स्वतन्त्र पार्टीको दुईदिने प्रशिक्षणमा मकवानपुरबाट पराजुली र जिल्ला सभापति राजकुमार न्यौपानेसहित दर्जन कार्यकर्ता सहभागी हुनुभएको थियो । पार्टीले चुनावकेन्द्रित प्रशिक्षण कार्यक्रम राखेको सहभागी राममणि न्यौपानेले बताउनुभयो ।

‘जनता सचेत भइसके, अब पुराना पार्टीभित्र मौलाएको धनबहादुर र डनबहादुरका साथै सुकुम्बासीका नाममा राजनीति गर्दै देशलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा खोक्रो पार्नेहरूको दिनगन्ती शुरू भएको छ,’ पराजुलीले भन्नुभयो– ‘अबको निर्वाचनमा जनताले नयाँ अनुहारलाई मतदान गर्नेछन् । चुनाव आएसँगै गाउँ जाने नेताका झुटा आश्वासनलाई पत्याउने छैनन् । उहाँ नेपाली कांग्रेस मनहरीका स्थानीय चुनावी कमान्डर हुनुहुन्थ्यो । तर, सोही बेला असन्तुष्ट उहाँले भन्नुभएको थियो– ‘जतिसुकै आवेगमा आए पनि पार्टी छाड्न सकिन्न, पार्टी छाडेर कहाँ जाने ?’ आवेगमा आएर नेपाली कांग्रेस (वीपी) बाट शंकर न्यौपानेलाई उम्मेदवार बनाउन आफू समर्थक रहे पनि कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित नेताहरूसँग गरिएको छलफलपछि उम्मेदवारी फिर्ता लिई गठबन्धनलाई सघाउने निधोमा पुगिएको उहाँले बताउनुभएको थियो ।

साविक हाँडीखोला गाविसका पुराना नेता मानिने पराजुलीले कांग्रेस छाडेको आधिकारिक घोषणा भने गर्नुभएको थिएन । केही दिनअघि उहाँले सामाजिकसञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो जन्मभूमि र कर्मभूमिबाट आफू पनि उम्मेदवार रहने घोषणा गर्नुभएको थियो ।आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गर्नुभएका उहाँ सामाजिक सञ्जाल र मिडियामा छाउनुभएको थियो । यसअघि मनहरी गाउँपालिका अध्यक्षमा दाबी प्रस्तुत गरेका पराजुली कांग्रेसको आन्तरिक निर्वाचनमा मनहरी गाउँपालिका–४ बाट क्षेत्रीय प्रतिनिधि (बुथ) मै पराजित हुनुभएको थियो ।

कांग्रेस जिल्ला उपसभापतिका दाबेदार उहाँ क्षेत्रीय प्रतिनिधिमै पराजित भएपछि पार्टीप्रति निराश रहँदै आएको बेला स्वतन्त्र पार्टीले मौका पाएको थियो । स्वतन्त्र पार्टी मकवानपुर सभापति राजकुमार न्यौपानेले जिल्लाको क्षेत्र नम्बर–२ बाट पराजुलीको नाम सिफारिस गर्ने निर्णय गरिएको र उहाँ पार्टीको प्रारम्भिक भेलामा उपस्थित भएको जानकारी दिनुभयो । स्वतन्त्र पार्टीका हेटौंडा नगर सभापति सन्तोष न्यौपानेले पराजुली सहभागी भएको कार्यक्रमको भिडियोसमेत सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको थियो ।

जनताको अवस्था परिवर्तन र राम्रो व्यवस्थापन गर्न युवाको भूमिका हुनुपर्ने र पार्टीभित्रबाट सक्षम युवाले विद्रोह गर्नुपर्ने उहाँको तर्क छ । ‘देशमा भएका विभिन्न व्यवस्था परिवर्तनमा अहम् भूमिका निर्वाह गरेका अघिल्ला पुस्ताका नेतालाई आफूले सम्मान गर्ने तर परिवर्तित व्यवस्थालाई उहाँहरूले राम्रोसँग व्यवस्थापन गर्न नसकेको स्वीकार्नुपर्ने उहाँले बताउनुभयो ।
स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएका मकवानपुरका पुराना नेता पराजुलीले कांग्रेसले बुथमै नपत्याए पनि स्वतन्त्र पार्टीले संघको टिकट दिएको प्रतिक्रिया दिनुभयो । उहाँले जहाँ रहे पनि जनताकै सेवा गर्ने भएकाले स्वतन्त्र पार्टीमा लागेको प्रतिक्रिया दिनुभयो ।

‘म गएर न कांग्रेसलाई फरक पर्छ न त कोही नेतालाई नै । मलाई कांग्रेस र कांग्रेसप्रति आस्था राख्ने जनताको सधैं माया छ । तर, नेताले सधैं अवहेलना गर्दै आए’, निराश हुँदै पराजुलीले भन्नुभयो– ‘म अघि बढिसकेको छु । म पनि लामो समय कांग्रेस नै हुँ, केवल अब चुनाव चिह्न फरक हो, कांग्रेसीहरूले पनि कहिले हँसिया हथौडा त कहिले कलममा भोट हालेकै हो । एकपटक मेरा लागि भोट हालिदिनुहुन अहिल्यै अनुरोध गर्न चाहन्छु ।

नेताहरूबाट पीडित भएका धेरै कांग्रेसका नेता-कार्यकर्ता अब अन्य पार्टीमा जाने अवस्था रहेको उहाँको चेतावनी छ । कांग्रेस अब धनवाद र चाकडीमा लागेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्