त्रिविको अवस्था झन् अन्योल



काठमाडौं । 

नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संंघले त्रिविका पदाधिकारीकै कारण विश्वविद्यालयमा मुठभेट भएको आरोप लगाएको छ भने माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । सरकार आबद्ध दुई संगठनले फरकफरक धारणा सार्वजनिक गरेपछि त्रिविको अवस्था झन् अन्योल भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न नसकेको, प्रश्नपत्र हुबहु आएको विषयमा छानबिन गर्न गठिन समितिको प्रतिवेदन सार्वजनिक गर्न नसकेको, आफ्नो कुकर्म ढाकछोप गर्न व्यक्तव्यबाजी गरेको आरोप लगाएको छ ।

प्रपासंघले पदाधिकारीको अदूरदर्शिता, अक्षमताका कारण पदाधिकारीहरू सम्पूर्ण रूपमा अयोग्य भएको आरोप लगाउँदै तत्काल निकास दिन आग्रह गरेको छ । संघले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषय उल्लेख नगरी घुमाउरो किसिमले पदाधिकारीले सम्पुर्ण विषयको भागिदार हुँदै निकास निकाल्न आग्रह गरेको छ ।

संघले प्राज्ञिक मर्यादा सिकाउने सरस्वतीको मन्दिरमा बसेका पदाधिकारीले आफ्नो गल्ती ढाकछोप गर्न हरसम्भव प्रयास गरेको आरोप लगाएको छ । प्रपासंघले दिएको मागलाई त्रिविका पदाधिकारीले नजरअन्दाज गरी बेवास्ता गरेको उनीहरूको भनाइ छ । प्रपासंघका अध्यक्ष जगत तिमल्सिना र महासचिव राजेन्द्र गौतमद्वारा हिजो मंगलबार जारी विज्ञप्तिमा पदाधिकारीले तत्काल निकास दिन चेतावनी दिएको छ ।

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गरेको छ ।
संगठनले भदौ १० गते कार्यकारी परिषद्को बैठकको माइन्युट र अन्य महत्वपूर्ण कागजात लुटेर लगेको घटनाप्रति आपत्ति जनाएको छ । नेबिसंघका केही गुटले होटल एल्लो पगोडामा भएको बैठकमा माइन्युटलगायत काजगात लुटेर लगेका थिए । संगठनले भनेको छ– कुनै पनि समस्याको समाधान वार्ता र संवाद र छलफलबाट हुन सक्छ तर समस्याको समाधान तोडफोड बन्द र त्रिविको कागजात लुट्नेजस्ता कार्यले गैरसंवैधानिक र आपराधिक बाटो अवलम्बन गरेको आरोप छ ।’ विद्यार्थी संगठनको नाममा समूहगत रूपमा गरेको आपराधिक क्रियाकलापप्रति खेद प्रकट गर्दै संगठनले सो घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ ।

अध्यक्ष अखिलेश्वर लाल दासद्वारा मंगलबार जारी विज्ञप्तिमा विषम परिस्थितिमा विश्वविद्यालयको छवी बचाउन आवश्यकीय भूमिका निर्वाह गर्न संगठन तयार गरेको उल्लेख गरिएको छ । उता उपकुलपति धर्मकान्त बास्कोटाले आफूलाई सरकारले निजी सुरक्षा नदिएसम्म विश्वविद्यालयमा जान नसकिने बताउनुभएको छ । सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको र आफूलाई पटक पटक विभिन्न किसिमको धम्की दिएको कारण कार्यालय जानसक्ने अवस्था नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्