व्यवस्थित शहरीकरण आजको आवश्यकता : प्रधानमन्त्री देउवा



बुटवल । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शनिबार १ अर्ब ११ करोडको लागतमा बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले व्यवस्थित शहरीकरण आजको आवश्यकता भएको उहाँको भनाइ थियो । उहाँले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपत्ति र सामाजिक विकृति फैलिने गरेको बताउनुभयो । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताउँदै उहाँले यसबाट मात्र दिगो विकास लक्ष्य हासिल गर्न सकिने स्पष्ट पार्नुभयो । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको पर्यटकीय, आर्थिक र शैक्षिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्दै देउवाले यसलाई व्यवस्थित रूपमा चलाउनुपर्नेमा जोड दिनुभयो ।

‘नेपालको कुल जनसंख्याको २ तिहाइ शहरी क्षेत्रमा बसोबास गर्छन्, अनियन्त्रित बसाइँसराई रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’ –प्रधानमन्त्री देउवाले भन्नुभयो । उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्री, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सम्मेलन केन्द्रले पु-याउने योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।

बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डपमा सभाहल र अन्य साना हलमा गरी २ हजार ७ सय मानिस अट्ने सम्मेलन केन्द्र तयार भएको हो । नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ । सभाहलमा १ हजार मानिस अटाउँछन् । सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल भवन तयार भएका छन् ।

सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ । सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी रहेको आयोजना प्रमुख धर्मेन्द्र पन्थले बताउनुभयो । सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलनहरू गर्न सहज हुने भएको छ । ४ सय गाडी र ४ सय मोटरसाइकल पार्किङको व्यवस्था छ । सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ । प्रधानमन्त्री देउवा हेलिकोप्टरमा सम्मेलन केन्द्रमा आउनुभएको हो । सम्मेलन केन्द्र ९.६ बिगाहा क्षेत्रफलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्