केन्याविरुद्ध खेल्ने खेलतालिका सार्वजनिक



काठमाडौं । 

नेपाल क्रिकेट संघ (क्यान) ले केन्याविरुद्ध खेल्ने पाँच टी २० आई तथा ३ एकदिवसीय अभ्यास शृंखलाको खेलतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले पहिलो टी २० आई खेल भदौ ९ गते खेल्नेछ । भदौ १० गते नेपालले दोस्रो खेल खेल्नेछ । त्यसपछि एकदिन विश्राम हुनेछ भने भदौ १२, १३ र १४ गते लगातार तीन वटा टी २० खेल हुनेछन् । पहिलो एकदिवसीय अभ्यास खेल भने भदौ १७ गते खेलिनेछ । भदौ १८ र २० गते क्रमशः दोस्रो र तेस्रो एकदिवसीय अभ्यास खेल खेलिनेछ ।

कप्तान सन्दीप लामिछानेले नै टी २० आईमा कप्तानी गर्नेछन् । सन्दीप टि२० आई सिरिजपछि क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जानेछन् । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् । उनको अनुपस्थितिमा बाँकी तीन एकदिवसीय अभ्यास खेलमा कप्तान रोहित पौडेल हुने पनि क्यानले जनाएको छ ।

सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ । वरियता २०२२ नोभेम्बर १४ सम्मलाई आधार मानिनेछ । आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझै छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझै विश्वकप खेल्नेछन् । अमेरिका र वेस्टइन्डिज सोझै छनोट भएका छन् । यदि वेस्टइन्डिज शीर्ष आठमा परेको खण्डमा वरीयताबाट थप तीन टोलीले विश्वकप खेल्न पाउनेछन् ।

ज्ञानेन्द्र राष्ट्रिय टोलीमा फर्के

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको टोलीमा पुन प्रवेश भएको छ । अर्को महिना केन्याविरुद्ध हुने ५ वटा टी२० अन्तर्राष्ट्रिय तथा तीन एकदिवसीय अभ्यास खेलका लागि ज्ञानेन्द्र टोलीमा समेटिएका हुन् । उनी यसअघि मार्चतिर यूएईमा भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलापछि टोलीमा परेका थिएनन् ।

यसपछि भएका नेपाली टोलीका अन्तर्राष्ट्रिय खेलमा ज्ञानेन्द्रलाई छनोट गरिएको थिएन । नेपाली टोलीले अमेरिकामा खेलेको विश्वकप लिग २ का साथै स्कटल्यान्डमा खेलेको विश्वकप लिग २ का लागि पनि छनोट नहुँदा उनले अमेरिका र स्कटल्यान्डको भ्रमण गुमाउनु परेको थियो । यी त्रिकोणात्मक खेलमा नेपालको प्रदर्शन औसत भन्दा तल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्