लन्डन, (एजेन्सी) ।
नयाँ सिजनको जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ । साविकको विजेता बायर्नले घरेलु टोली आइनट्राख्ट फ्रान्कफुर्टमाथि ६–१ गोलअन्तरको सानदार जितसहित सुखद् सुरुवात गरेको हो । डोइटसा बैंक पार्कमा शनिबार राति भएको खेलमा बायर्नको सानदार जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिख, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक गोल गरे ।
घरेलु टोलीका रान्डल कोलो मुआनीले एक गोल फर्काए । बायर्नले पहिलो हाफमै ५–० को फराकिलो अग्रता लिँदा दोस्रो हाफमा एक गोल थप्दा अर्काे गोल बेहोरेको थियो । खेलको पाँचौं मिनेटमा किम्मिखले फ्रिकिकमा सिधै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा पाभार्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
२९औं मिनेटमा साडियो मानेले सर्ज जिनाब्रीको पासमा हेडमार्फत गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । यसै सिजन इंग्लिस क्लब लिभरपुलबाट म्युनिख आएका मानेले बुन्डेसलिगाको पहिलो खेलमा डेब्यु गोल गर्न सफल भएका हुन् । ३५औं मिनेटमा जमल मुसएलाले थोमस मुलरको पासमा गोल गरेपछि बायर्न ४–० ले अघि बढ्यो ।
४३औं मिनेटमा मुलरकै पासमा जिनाब्रीले गोल गरेपछि बायर्नले पहिलो हाफमा ५–० को आरामदायी अग्रता लिन सफल भयो । ६४औं मिनेटमा रान्डल कोलोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा मुसिएलाले लिरोए सानेको पासमा व्यक्तिगता दोस्रो र टोलीका लागि छैटौं गोल गर्दै बायर्नको सानदार जित पक्का गराए ।
त्यसैगरी, बोरुसिया डर्टमन्डले पनि जर्मन बुन्डेसलिगा फुटबलमा जितबाट जारी सिजनको लिगमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा बायर लिभरकुसेनलाई १–० गोल अन्तरले हराउँदै डर्टमण्डले सुखद सुरुवात गरेको हो । डर्टमन्डको जितमा मार्को रिउसले निर्णायक गोल गरे । उनले खेलको १० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, लुकासले इन्जुरी समयमा रातो कार्ड पाएपछि लिभरकुसेन १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै डर्टमन्डले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको छ । अर्कोतिर लिभरकुसेनले भने नयां सिजन हारबाट सुरुआत गरेको छ ।











प्रतिक्रिया