नेपाली खेलाडी विदेश पलायन हुँदै



काठमाडौं । 

नेपालमा खेलेर जीविकापार्जन गर्न नसक्ने भएको भन्दै नेपाली खेलाडी विदेश पलायन भइरहेका छन् । फुटबलका दिग्गज खेलाडीदेखि लिएर टेबलटेनिस, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेलका खेलाडी समेत विदेश पुगेको अवस्था छ । खेलाडीकै भनाइअनुसार देशको परिस्थिति, खेलमा हुने झेल जस्ता कुराले उनीहरूलाई विकर्षण गरेको छ ।

फुटबलका सन्तोष तामाङ, हेमन्त रानामगर, आशिष लामा, सुमन लामा, दर्शन गुरुङ, नवीन गुरुङ, हेमन्त थापामगर विदेश पुगिसकेका छन् । उनीहरूको गन्तव्य देश अस्टेलिया बनेको छ । यसमध्ये दर्शन, सन्तोष र नवीन अस्ट्रेलियाको मेलवर्नस्थित युनाइटेड एफसीमा आबद्ध भएका छन् । उनीहरूले एमसीएसए प्रिमियर लिग २०२२ मा खेलिरहेका छन् ।

सन्तोषको कुरा गर्ने हो भने उनी विभागीय टोली त्रिभुवन आर्मी क्लबका प्रमुख खेलाडी हुन् । विभागिय जस्तो क्लबमा रहेका खेलाडीले समेत नेपालमा खेलेर जीविका चलाउन नसक्ने भनेपछि देशमा खेलेर के हुन्छ र ? भन्ने प्रश्न तेर्सिएको छ । त्यसो त जगजित श्रेष्ठ पनि अस्टे«लियामा खेलेर नेपाल फर्केको पनि एक वर्ष भइसकेको छ । जगजितलाई आर्मीले नै राखेको छ । यदि, नेपालमा फुटबल हुने कुनै चाँजोपाँजो नभएमा उनी अस्टे«लियामा फर्कन सक्नेछन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले पनि नेपालमा फुटबल सकिन लागेको प्रतिक्रिया दिएका छन् । अनिलले भने—नेपालमा राजनीति बढी भयो, सम्बन्धित निकायले जति हेर्नुपर्ने त्यो हेरिरहेको छैन । खेलाडी विदेश पलायन भइरहेका छन्, तर सम्बन्धित निकाय अहिले पनि मौन छ । एन्फाकै कुरा गरौं अहिले बैठकसमेत बस्न सकिरहेको छैन, यस्तो तालले उनीहरूले खेलाडीको लागि के गर्न नै सक्ला ? अहिले पनि विवादै विवाद भइरहेकै छ ।

कसैलाई के चाहिने कसैलाई के चाहिने भएपछि खेलाडीलाई त रोक्न सक्ने वातावरण कसरी बन्न सक्ला ? खालि राजनीति भइरहने, आफ्नो स्वार्थ पूरा गर्ने बाहेक केही देखिएको छैन ।

वितृष्णा भएर नै खेलाडी विदेश पलायन भइरहेको छ । यस्तै, फुटबलर रञ्जित धिमालले अहिले नेपाली फुटबलर पलायन हुनुको कारण कोच अब्दुल्लाह अल्मुताइरी रहेको बताए । उनको कारण खेलाडी मानसिक रुपमा डिस्टर्ब भएको रञ्जितले बताए । उनका अनुसार उनले नेपाल सुपर लिग पनि रोक्न खोजेका थिए । अल्मुताइरीको कारण १० जना राष्ट्रिय खेलाडीले एसियन कप छनोटको लागि प्रशिक्षण छाडेको काण्डले नेपाली फुटबलमा ठूलो भुइँचालो आएको थियो ।

पछि अल्मुताइरीले १७ नयाँ अनुहार थपेर टोली बनाएका थिए । यसैगरी, क्रिकेटतर्फ पनि खेलाडी पलायन भइरहेका छन् । नरेश बुढाएरले क्यानडालाई गन्तव्य देश बनाइसकेका छन् । नरेशले क्यानडाबाट क्रिकेट खेलिरहेका छन् । यस्तै, कुनै बेला नेपालका लागि ठूलो योगदान दिएका वसन्त रेग्मी पनि विदेश पलायन भइसकेका छन् । उनी हाल अमेरिकामा रहेका छन् । उनको साथै पृथु बास्कोटा पनि अमेरिकामै बसोबास गरिरहेका छन् । यसैगरी, भलिबलकी आसलाग्दो खेलाडी रमिला तण्डुकार पनि अमेरिका बसिरहेकी धेरै वर्ष भइसकेको छ ।

एथ्लेटिक्समा राम्रो नतिजा ल्याएकी केशरी चौधरी पनि विदेशमै छिन् । हालै मात्रै पनि टेबलटेनिसमा केही त गर्ला भन्ने आस लागेका युवा खेलाडी स्यान्टु श्रेष्ठले पनि विदेशकै बाटो लिने निर्णय लिएका छन् । उनले पनि बताए कि नेपालमा खेलेर जीवन चल्दैन । केही त केही गर्नकै लागि विदेश जानुपर्ने भएको र यो रहर नभएको पनि उनले बताए ।

नेपालमा तीन विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले धेरै जसो खेलाडीलाई आबद्ध गरेर रोजगार दिइरहेका छन् । नेपालमा यदि, यी तीन विभागीय टोली नभएको भए सायद अहिलेसम्म हजारौँ खेलाडी विदेश पुगिसकेका हुन्थे । उनीहरू खेलाडीलाई नेपालमै टिकाउने प्रयासमा छन् ।

कबड्डी खेलाडी भारतको प्रोकबड्डीमा

केही नेपाली खेलाडी विदेश पलायन भइरहेको अवस्थामा कबड्डीका दुई नेपाली खेलाडी भारतको कबड्डी लिग प्रो–कबड्डीमा आबद्ध भएका छन् । नवौं सिजनका लागि भएको खेलाडी अक्सनमा नेपालका नागेश्वर थारू र लालमोहर यादव भारतीय टोलीमा आबद्ध भए । उनीहरूलाई बैंगलुरू बुल्सले १०–१० लाख भारुमा अक्सनबाट किनेको हो ।

प्रतिक्रिया दिनुहोस्