आँखा देखेपछि कलाकारले चित्रबाटै देखाए आँखाको महत्त्व

0
Shares

काठमाडौं ।

करिब १५ वर्षसम्म मोतीबिन्दुको शिकार हुनु सबैका लागि पीडाको विषय हो । त्यसमाथि चित्रकारकै आँखाले काम गरेनन् भने आँखासँगै कलाकारिता पनि मर्ने नै भयो । मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादव यस्तै समस्यामा हुनुहुन्थ्यो । तर, हालै गरिएको उपचारपछि उहाँहरू ठीक हुनुभएको छ, फटाफट मिथिला कलाको उत्पादन गरिरहनुभएको छ ।

चित्रकार सिंहका अनुसार मोतीबिन्दु भएर चित्रकला कार्यमा धेरै गाह्रो भएको र शल्यक्रियापश्चात् अहिले एकदम सहज भएको छ । यस्तै अनुभव अर्का चित्रकार यादवको पनि रहेको छ । एक महिनाको तयारीमा एक साता चित्र कोर्नमै बिताएका कलाकारद्वयले भित्तेचित्र कोरेर आँखाको महत्त्व उजागर गर्नुभएको छ ।

उहाँहरू तिलगंगा आँखा प्रतिष्ठानले गरेको उपचारपश्चात् आँखा देख्न सक्ने मात्र नभै पुरानै अवस्थामा चित्रकारितालाई निरन्तरता दिनसक्ने हुनुभएको छ ।विगत ३० वर्षदेखि अनवरत रूपमा नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पु¥याएको योगदानको कदरस्वरूप तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूलाई नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोगमा रिलेटिभ नेपाल र सारंगी सोसल इन्टरप्राइजेजले गरेको सम्मान कार्यक्रममा गत साता कलाकारद्वयले आफ्ना चित्र सार्वजनिक गर्नुभएको थियो ।

‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरू’ नाम दिइएको भित्तेचित्र निर्माणमा कलाकारद्वय आकर्षणको केन्द्रबिन्दु हुनुहुन्थ्यो । अस्टे«लियाली राजदूत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले पनि उहाँहरूकै प्रशंसा गर्दै अधिकांश समय बिताउनुभयो । भित्तेचित्रको मुख्य सन्देश उपचार भएमा धेरै प्रकारका अन्धोपनहरू निवारण गर्न सकिन्छ भन्ने रहेको तिलगंगा प्रतिष्ठानले जनाएको छ । मिथिला कलाकृतिबाट पुनः प्रयोगयोग्य प्लास्टिकका बोतलहरू, रेसाबाट निर्मित चस्माका खोलहरू बनाएर स्थानीय रोजगारी सिर्जना गर्ने र सो उत्पादनलार्ई विश्वव्यापी रूपमा बेच्ने लक्ष्य रहेको जनाइएको छ ।

कलाको अन्तर्राष्ट्रिय पहुँचले अमूर्त नेपाली कला संस्कृतिको साथसाथै मिथिला कला र कलाकारहरूलाई सशक्त बनाउन पनि ध्यानाकर्षित गर्नेछ । सारंगी सोसल इन्टरप्राइजेज गन्र्धव समुदाय र जनकपुरका मिथिला कलाकारहरूसँग मिलेर परम्परागत कला, संगीत र स्थानीय सांस्कृतिक परम्पराहरूको संरक्षण, प्रवद्र्धन गरी यसलाई २१औं शताब्दी सान्दर्भिक बनाउन प्रयासरत छ ।