काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचनको मिति घोषणासँगै सरकार काम चलाउ भएको भन्दै संसद् बैठक सञ्चालन गरेकोप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि कामचलाउ बनिसकेको गठबन्धन सरकारले संसद् बैठक सञ्चालन गर्न मिल्छ भनी सरकारलाई प्रश्न गर्नुभएको थियो ।
उहाँले संसदीय समितिले छानबिनमा निर्दोष देखिएका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय समितिले बहुमतका नाममा अपूरो प्रतिवेदन दिएको टिप्पणी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘संसदीय छानबिन समितिमा बिरलै देखिने बहुमत र अल्पमतमा आधारमा निर्णय लिइएको थियो, मन्त्रीको कल डिटेल पनि खोजिएन, संसदीय समिति तथ्यका आधारमा होइन अल्पमत बहुमतका आधारमा निर्णयमा पुग्यो । त्यसको परिणाम आज अर्थ मन्त्रालयका सचिव भागाभाग छन् ।’
अर्थमन्त्री शर्मामाथि प्रश्न उठाउँदै राष्ट्र बैंक जस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘यस्ता कुराले प्रधानमन्त्रीलाई कहीँ कतै पोल्दैन ?’ उल्टो टोपी लगाएर हिँड्नु कानुनविपरीत नभए पनि सार्वजनिक नैतिकताका हिसाबले गलत नै हुने जिकिर गर्दै ज्ञवालीले सरकारमाथि नैतिकता बिर्सिएको आरोप लगाउनुभयो ।
एमाले उपमहासचिव ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको कार्यसूची सदनमा ल्याइएकोमा आपत्ति जनाउँदै भन्नुभयो– ‘सरकार कामचलाउ भइसकेको अवस्थामा प्रधानन्यायाधीश जबराविरुद्ध कारबाहीको कार्यसूची पनि आएको छ । तीन महिनामा यसको छिनोफानो हुनुपर्ने हो, दिनभरि यो सरकार सुतेर बस्यो, रात परेपछि तातेको छ, समिति गठन भएको तीन महिना हो कि बिजनेस दिएको तीन महिना हो ? सरकाले उत्तर दिनुपर्छ ।’
प्रमुख प्रतिपक्षी एमालेले नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूमाथि पाटन उच्च अदालतमार्फत् जारी गरिएको पक्राउ पुर्जीबारे पनि प्रश्न उठाएको छ । एमालेले चीनको भूमि भनिएको ताइवानमा पछिल्लो समय भएको अमेरिकी हस्तक्षेपलाई गम्भीर घटना भएको बताएको छ ।
ताइवान घटनाबारे सरकारले बोल्नु आवश्यक भएको भन्दै ज्ञवालीले भन्नुभयो– ‘हामी सरकारलाई एक चीन नीतिप्रति दृढतापूर्वक उभिन आग्रह गर्छौं । विश्व शक्तिका लहैलहैमा नेपाल जान सक्दैन ।’ एमालेले तिब्बत, हङकङ र ताइवान चीनका अभिन्न अंग भएको पनि बताएको छ ।











प्रतिक्रिया