चिनियाँ राजदूतद्वारा ताइवान मुद्दामा नेपालको समर्थन रहने विश्वास व्यक्त



काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी बुधबार ताईवानको विवादास्पद दुई दिने भ्रमण सकेर दक्षिण कोरियातर्फ प्रस्थान गर्नुभएको छ । यसैबीच नेपालस्थित चिनियाँ दूताबासले विज्ञप्ति जारी गरी पेलोसीको ताइवान भ्रमणको कडा विरोध गर्दै पेलोसीको भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भिर उल्लंघन गरेको बताएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त भ्रमणले ताइवानमा शान्ति र स्थिरतालाई गम्भीर रुपमा कमजोर बनाउने टिप्पणी गर्दै उक्त मुद्दामा नेपालको समर्थन खोज्नुभएको छ । उहाँले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा नेपाल आफ्नो एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढ रहने विश्वास व्यक्त गर्दै चीनको जायज र बैध अडानलाई नेपालले निरन्तर समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालले ‘स्वतन्त्र तिब्बत’को विरोध गर्दै ‘एक चीन नीति’प्रति प्रतिबद्धता जनाएकोमा चीनले उच्च प्रशंसा गरेको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा भन्नुभएको छ– ‘नेपालको एक चीन नीति नै नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’

नेपाल र चीन हिमाल र नदीले जोडिएको असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार साझेदार रहेको जिकिर गर्दै राजदूत होउले भन्नुभएको छ–‘दुबै देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एक अर्कार्ला बुझेका र समर्थन गरेका छन् । हामी विश्वास गर्छौ कि नेपार सरकार र यहाँका जनताले एक चीन नीतिको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् । साथै एक अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्