ट्राफिक प्रहरीको विशेष चेकिङमा कडाइ, पानी बोक्ने ट्यांकर, एम्बुलेन्स र स्कुल बस पनि कारबाहीमा

आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो बसका चालकलाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले विशेष चेकिङलाई कडाइ गर्दै आएको छ । विगत लामो समयदेखि चेकिङ गर्दै आए पनि उसले केही दिनअघिबाट विशेष चेकिङलाई थप कडाइ गर्दै आएको हो ।

आज (बुधबार) विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले दुई सय ६३ जना चालक कारबाही गरेको छ । उसले पानी बोक्ने ट्यांकर ७१ वटा एम्बुलेन्स पाँच वटा र अन्य एक सय ८७ वटा गरी जम्मा दुई सय ६३ वटा सवारी साधनका चालकलाई विशेष चेकिङका क्रममा कारबाही गरेको छ ।

त्यस्तै ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई समेत कारबाही गरेको छ । जसमध्ये दुई जना स्कुल बसका चालक रहेका छन् ।

मदिरा सेवन गरी सवारी चलाउने चालक तीन जना र अन्य सवारी साधन चलाउने दुई जना चालक कारबाहीमा परेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

आरक्षण सिटको कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने सवारी चालकलाई कारवाही गरेको हो ।

काठमाडौं उपत्यकाको रत्नपार्क, स्वयम्भु, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकोले कारवाही गरीएको उपत्यका

ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । महिला, अशक्त तथा जेष्ठ नागरीक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोलीनै बनाएर काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा चेक गरी कारबाही गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्