निजी विद्यालयका अधिकारी भन्छन् : मापसे, डिआइ र भारी झोला नियन्त्रण गर्नैपर्छ



काठमाडौं । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ ।

नेपाल समाचारपत्रसँग मंगलबार कुरा गर्दै प्याब्सनका अध्यक्ष डीके ढुंगाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी झोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालय बस चलाउनेलगायतका विकृति अन्त्य हुनुपर्ने बताउनुभयो । अहिलेको २१औं शताब्दीमा पनि डीआई राखेर विद्यार्थीलाई कारबाही गर्नु उचित नभएको भन्दै प्याब्सनका अध्यक्ष ढुंगानाले भन्नुभयो– ‘हामीले सबै विद्यालयलाई डीआई नराख्न, मापसे गरेर सवारी नचलाउन र विद्यार्थीलाई किताबको भारी नबोकाउन जानकारी गराएका छौं ।

यदि डीआई राखेर विद्यार्थीलाई यातना दिएमा आचारसंहिताविपरीत हुनेछ, त्यस्तो विद्यालयलाई हामी तत्काल कारबाही गर्नेछौं ।’ उहाँले यी विषयमा प्याब्सनले तत्काल सूचना जारी गरी विद्यालयलाई सचेत गराउने पनि बताउनुभयो ।पछिल्लो समय इमाडोलस्थित युनाइटेड स्कुलका डीआईले विद्यार्थी पिटेको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि निजी विद्यालयको छाता संगठनले सबै विद्यालयलाई डीआई नराख्न सुझाव दिएको छ ।

ढुंगानाकै भनाइप्रति सहमति जनाउँदै एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले कुनै पनि विद्यालयले विद्यार्थी तर्साउन डीआई राखेको भए तत्काल हटाउन आग्रह गर्नुभयो । उहाँले साना उमेरका बालबालिकालाई थिचिने गरी किताबको भारी बोकाउनु गलत भएको टिप्पणी गर्दै भन्नुभयो– ‘अब सूचनाप्रविधि मैत्री कक्षाकोठा हुनुपर्छ । विद्यार्थीलाई एक–डेढ केजीको मात्र किताबको व्यवस्था गर्नुपर्छ । पाठ्यक्रममा आधारित भएर पढाउँदा किलोका किलो किताब बोक्नु जरुरी छैन ।’

प्याब्सन तथा एन प्याब्सन दुवैले विद्यार्थी केन्द्रित, प्रविधियुक्त र रूपान्तरित शिक्षालाई जोड दिनुपर्ने उल्लेख गर्दै कुनै पनि विद्यालयले विद्यार्थी थिचिने र ढाड बांगो हुनेगरी झोलाभरि पुस्तक बोकाउन नहुनेमा जोड दिएको छ । त्यस्तै, मापसे गरेर विद्यालय बस चलाउने चालकलाई ट्राफिक कारबाही गरी विद्यालयले निलम्बन गर्नुपर्नेमा पनि दुवै निकायले आबद्ध संस्थालाई गम्भीर हुन आग्रह गरेको छ । केही दिनअघि विद्यालयको सवारी समय व्यवस्थापन गर्ने विषयमा आयोजित गरिएको कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) मीरा चौधरीले प्याब्सन र एन प्याब्सनका अधिकारीहरूसँग विद्यालय बस चालकले मादक पदार्थ सेवन गरेको गुनासो आउने गरेको बताउनुभएको थियो ।

बैठकमा प्याब्सन र एन प्याब्सनका अधिकारीले विद्यालय बस चालकमाथि पनि मापसे परीक्षण गर्न आग्रह गरेको जानकारी दिँदै न्यौपानेले भन्नुभयो– ‘मैले डीआईजी साबलाई बस चालकमाथि मापसे जाँच गर्न आग्रह गरेको थिएँ । त्यति मात्रै होइन, चालकले गाँजा वा अन्य नसालु पदार्थ सेवन गरे नगरेको विषयमा समेत चेकजाँच गर्न आग्रह गरेको थिएँ ।’प्याब्सनकै अनुरोधमा विद्यालय बस चालकको मापसे परीक्षण गरिएको बताउँदै ढुंगानाले भन्नुभयो– ‘मापसे गरेर सवारी चलाएको जानकारी भए ट्राफिक कारवाहीसँगै विद्यालयले पनि त्यस्ता चालकलाई तत्काल निलम्बन गर्नुपर्छ ।’ निजी विद्यालयमा विकृति भित्रिन थालेपछि प्रहरीले विद्यालयका सवारी साधन चेकजाँच गर्न थालेको हो ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले विद्यालयमा डिआइ राख्ने चलन हटिसके पनि केही विद्यालयले विद्यार्थी तर्साउन अहिले पनि डीआई राखेको जानकारीमा आएको बताउँदै भन्नुभयो– ‘डीआई होइन, काउन्सिलर राख्न सरकारले निर्देशन दिइसकेको छ । उहाँले सरकारले जारी गरेको आचारसंहितामा उल्लेख भएअनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले ४ किलो, ६ देखि ८ सम्मका विद्यार्थीले ६ र ९ र १० का विद्यार्थीले ८ केजी पाठ्यपुस्तक र टिफिन तथा अन्य सामग्री राखिएको झोला बोक्ने पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । साना बच्चा बोक्ने विद्यालय बस चालकले मापसे गरेमा विद्यालयले निलम्बन गर्नैपर्नेमा जोड दिँदै भण्डारीले भन्नुभयो– ‘स्कुल बस चालकले तोकिएको पोशाक लगाएर मात्र बस चलाउनुपर्छ ।’ हाल प्याब्सन र एन प्याब्सनसँग आबद्ध विद्यालयको संख्या ८ हजारको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्