छत्रदेवमा जुंगाको लडाई, दलीय आडम्बरले बजेट समेत प्रभावित



अर्घाखाँची ।

विधिअनुसार काम भएको हुँदो हो त छत्रदेवमा यतिबेला बजेट कार्यान्वयन भइरहेको हुने थियो । नयाँ आर्थिक वर्ष सुरू भएसँगै बजेट कार्यान्वयनको चरणमा पुग्नु पर्नेमा छत्रदेव गाउँपालिका यतिबेला कामविहीन भएको छ ।

पालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने कार्यपालिकामा नेकपा एमालेको बहुमत छ । यही दुई पार्टीबीचकाे जुंगाको लडाईले छत्रदेव गाउँपालिकामा ८ साउन भइसक्दा पनि न त बजेट आएकाे छ न त नीति तथा कार्यक्रम मै । बजेट रोकिएपछि दैनिक कार्यसञ्चलन समेत प्रभावित भइरहेकाे छ । साथै, आर्थिक नियमावली पास नहुँदा वडास्तरमा समेत सिफारिस रोकिएको छ ।

कार्यपालिकाको पहिलो बैठकमै पालिका अध्यक्षले विषयगत समितिका सभापतिहरूको मनोनयन गरेपछि कार्यपालिकामा बहुमत रहेको एमाले सुरूमै झस्किएको हो । कार्यव्यवस्था नियमावलीले नै विषयगत समितिहरूको सभापति तोक्ने जिम्मा अध्यक्षलाई दिएका कारण यो छलफलकै विषय बन्न नसक्ने पालिका अध्यक्षको बुझाइ छ । ‘ मैले आफूलाई प्राप्त अधिकार प्रयोग गरी विषयगत समितिका सभापतिहरु चयन गरेको हुँ । अझ एमालेका तीन जना र कांग्रेसका तीन जना गरेर नियुक्त गरेको हुँ ।’ अध्यक्ष चन्द्रमान श्रेष्ठले भने, ‘पहिलो गाँसमै ढुंगा पार्ने गरी उहाँहरू अगाडि बढ्नुभएका कारण समस्या भएको छ ।’

यता, पालिका उपाध्यक्ष भने आफूहरू हलो अड्काउने पक्षमा हुँदै नभएको जिकिर गर्छन । ‘सकेसम्म समस्या नै नआउनुपर्थ्यो, आइसकेपछि विषयगत समितिको गठनलाई थाती राखेर बजेटलाई अगाडि बढाऔँ भनेका हौं । तर अध्यक्ष जबरजस्ति अगाडी बढेका कारण समस्या भयो ।’ उपाध्यक्ष मनि पन्थीले भने, ‘अध्यक्षमा समन्वयकारी भूमिका देखिएन, जबरजस्त अगाडि बढ्दा त कहाँ समाधान निस्कन्छ र ?’

आफूहरूले मध्यमार्गी बाटो अवलम्बन गर्न आग्रह गरे पनि कुरा जटिल बनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ बताउँछन् । ‘हामीले मध्यमार्गी बाटोबाट भए पनि बजेट पास गरौं भनेको थियौं ।’ पन्थले भने, ‘विषय पालिकाभित्र भन्दा पनि जिल्लास्तरको राजनीतिमा पुगेका कारण समाधान झन जटिल भयो ।’

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्